हेटौँडा : अपाङ्गता भएका व्यक्तिहरूका लागि दस्तावेजीकरण तथा प्रतिवेदन लेखन सम्बन्धी दुई दिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशको आयोजनामा कार्यक्रम भएको हो ।
कार्यक्रम बिहीबार र शुक्रबार दुई दिन सिन्धुलीको प्रयास होटलमा भएको हो । दुई दिने कार्यक्रममा माइन्युट र प्रतिवेदन लेखन तथा लेखा व्यवस्थापन सम्बन्धी जानकारी गराइएको राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमतीकी व्यवस्थापक सीता मल्ल ठकुरीले जानकारी दिनुभयो । कार्यक्रममा गैरसरकारी संस्था महासंघ बागमतीका कार्यवाहक अध्यक्ष कमल कुमार विश्वकर्मा र यातायात व्यवस्था कार्यालय सिन्धुलीका लेखापाल डिल्ली सौगत घिमिरे तालिम प्रदान गर्नुभएको थियो । बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग तथा सिन्धुली अपाङ्ग महिला संघ र सिन्धुली बहिरा संघको समन्वयमा कार्यक्रम भएको हो ।
