
हेटौँडाः बागमती प्रदेशमा तामाङ र नेवारी भाषा सरकारी कामकाजको भाषाको रुपमा प्रचलनमा आउने भएको छ । बागमती प्रदेश सभामा सोमबार प्रदेश सरकारी कामकाजको भाषासम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित भएसँगै तामाङ र नेवारी भाषा सरकारी कामकाजको भाषाको रुपमा प्रचलनमा आउने निश्चित भएको हो ।
प्रदेश सरकारका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले प्रस्तुत गर्नुभएको विधेयकमाथि छलफलपछि सोमबार सभामुख भुवनकुमार पाठकले निर्णयार्थ पेश गर्नुभएको थियो । अब प्रदेश सभा सचिवालयले प्रदेश सरकारी कामकाजको भाषासम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई प्रदेश प्रमुख समक्ष प्रमाणीकरणका लागि पठाइनेछ । प्रदेश प्रमुखले प्रमाणित गर्नुभएपछि प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजपत्रमा प्रकाशित गर्नेछ । राजपत्रमा प्रकाशित भएको मितिले १८० दिनपछि प्रदेश सभाबाट पारित विधेयक लागु हुनेछ ।
प्रदेश सभामा विधेयक पारित गर्न प्रस्ताव गर्ने क्रममा सभामुख भुवनकुमार पाठकले प्रस्तावना वाचन गरेर सुनाउनु भएको थियो । मौलिक भाषाको संरक्षण र प्रवद्र्धनमा सहयोग पुग्ने उद्देश्यले सरकारी कामकाजको भाषाको रुपमा प्रदेशका बहुसंख्यक जनताको बोलिचालीको भाषा प्रयोगमा ल्याउने प्रयास भएको सभामुख पाठकले बताउनुभएको छ । नेवारी तथा तामाङ समुदायले नेवारी र तामाङ भाषालाई प्रदेशमा सरकारी कामकाजको भाषा बनाउन माग गर्दै आएको थियो ।