Home मुख्य समाचार कमजोर कूटनीति

कमजोर कूटनीति

नेपालीहरु रोजगारी, शिक्षा र व्यवसायका लागि अन्य देश जाने क्रम बढेको छ । अहिले नेपालीहरु विश्वका सबैजसो देशमा पुगिसकेका छन् । विशेषगरी रोजगारीका लागि नेपालीहरु धेरै देशमा पुगेका छन् । स्वदेशमा पर्याप्त रोजगारीको सम्भावना नभएका कारण अधिकांश नेपाली कामको लागि विदेशिएका छन् । विकसित देशमा उच्च शिक्षाका लागि जाने नेपालीको संख्या पनि उल्लेख्य छ । उच्च शिक्षाका लागि विदेशिएका नेपालीहरु पनि कुनै न कुनै काममा संलग्न हुने गरेका छन् । यसरी नेपालीहरु विदेशमा गएर काम गर्दा देशमा विप्रेषण (रेमिट्यान्स) आर्जन भई देशको आर्थिक अवस्था केही मजबुत बनाए पनि यसले देशमा निकै समस्या ल्याएको छ । देशको कृषि धरासायी भएको छ । पारिवारिक विखण्डन छ । जन्मदर घटेको छ । क्रियाशील उमेरको युवा अरुको देश विकास गर्न हिँडेका कारण आफ्नै देशको विकासको गति पछि परेको छ । कतिको मृत्यु हुन्छ उतै, अनि कति अंगभंग भएर फर्केका छन् । वैदेशिक रोजगारले गरिबी घटाएको छ, देशभित्र विप्रेषण आएको छ । रोजागारी दिएको छ, सीप सिकेका छन्, संस्कार सिकेका छन् । धेरैको घरबार सुधार्ने वैदेशिक रोजगार कतिपयका लागि ठूलो पीडा बन्ने गरेको छ ।

आप्रवासन र वैदेशिक रोजगारीको पीडादायी अवस्था अहिले देशले भोगिरहेको छ । कृषिसम्बन्धी तालिम र कामका लागि इजरायल पुगेका नपालीहरु त्यहाँको आतंककारी हमलामा परेर मृत्यु भएपछि देश शोकमा परेको छ । प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा कम्तीमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । दर्जनौं घाइते भएका छन् भने कयौं नेपाली सम्पर्कविहीन छन् । गत शनिबार हमासले इजरायलमाथि ठूलो आक्रमण गरेको थियो । इजरायली अधिकारीहरुका अनुसार यो आक्रमणमा परी मारिनेको संख्या ६ सय नाघेको छ । हजारौं मानिस घाइते भएका छन् । इजरायलमा मृत्यु हुने ७ जना नेपाली सुदूरपश्चिमका कैलाली, डोटी, बझाङ र दार्चुलाका छन् भने सुनसरी, धनुषा र सल्यानका एक–एक जना छन् । आक्रमणबाट बच्न सयौं नेपाली बंकरमा लुकेर बसिरहेका छन् । इजरायलमा हजारौं नेपाली केयर गिभरको रुपमा रोजगारीमा रहे पनि इजरायली सरकारको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत् इजरायल गएका विभिन्न विश्वविद्यालयका विद्यार्थी यो घटनामा बढी प्रभावित बनेका छन् ।

इजरायलमा मृत्यु भएका नेपालीको सम्मानमा सरकारले आज मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको छ । घटनामा दिवंगत हुनुभएका नेपालीहरुप्रति सम्मान व्यक्त गर्न राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय सरकारले गरेको हो ।सोमबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ भने घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । मृतकका परिवारलाई राहत स्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि भएको छ । परराष्ट्र मन्त्रालयले इजरायल सरकारसँग समन्वय गरी मृतकहरुको शव यथाशीघ्र ल्याउने तयारी गरेको बताइएको छ । तर, इजरायलमा अलपत्र परेका, बंकरमा लुकेर बसेका, सम्पर्कविहीन बनेका र जोखिम अवस्थामा रहेका नेपालीको उद्दार र राहत र स्वदेश फिर्ता ल्याउने उचित व्यवस्थाका लागि सरकारले प्रभावकारी काम गर्न सकेको छैन ।

विश्वका अन्य देशहरुले आफ्ना नागरिकको सुरक्षाका लागि तत्काल कदम चालेर उद्दार, राहत र अन्य व्यवस्थापन गरिरहेको भए पनि नेपाल सरकारले उल्लेख्य काम गर्न सकेको छैन । इजरायलमा रहेको नेपाली दूताबासले नेपालीलाई सम्पर्कमा आउन आग्रह गर्नेबाहेक बंकरमा लुकेका र जोखिम अवस्थामा रहेकाका उद्दार गरी सुरक्षित स्थानमा लैजान सकेको छैन । सम्पर्कविहीन बनेकाको खोजी कार्य हुन सकेको छैन । नेपाल सरकारले इजरायलमा रहेका नेपालीको सुरक्षाका लागि सरकारले सबै तयारी गरिरहेको बताए पनि त्यसको परिणाम देखिएको छैन । वास्तवमा नेपाल सरकारको यस्ता सम्भावित घटनाप्रति पूर्वतयारी नै छैन । विदेशस्थित दूताबासमा यस्ता आपतकालीन व्यवस्थापनको कुनै संयन्त्र नै छैन । राजनीतिक भागबण्डाबाट नियुक्ति पाएका राजदूतले यस्ता आपतकालीन समयमा प्रभावकारी काम गर्न नसक्नु स्वभाविक हो । नेपालसँग स्पष्ट विदेश नीति नहुनु र कूटनीतिरुपमा कमजोर हुनुका परिणाम अहिले इजरायलमा रहेका नेपालीले भोगिरहेका छन् । आगामी दिनमा सरकारले नेपाली रहेका सबै देशमा हुनसक्ने यस्ता सम्भावित घटनाबाट आफ्ना नागरिकलाई सुरक्षित राख्न र घटनापछि तत्काल उद्दार गर्न आवश्यक संयन्त्र तयार गर्नु आवश्यक छ ।

Exit mobile version