हेटौँडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिका–७, सुकौरास्थित गीताधर्म आधारभूत विद्यालयले सूचना लुकाएर एकजना निमावि तह र एकजना प्राथमिक तहको शिक्षक नियुक्त गरेको विषयमा शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख दीनानाथ गौतमले मन्त्रालयसँग बुझेर अगाडि बढ्ने बताउनुभएको छ । एक साता लामो कार्यशालामा सहभागी भएर आइतबार कार्यालय आइपुग्नुभएका प्रमुख गौतमले शिक्षक नियुक्तिको प्रक्रियामा सूचना लुकाएको विषयमा बुझ्न र कारवाहीको प्रक्रिया के हुन्छ भनी मन्त्रालयमा बुझेर अगाडि बढ्ने बताउनुभएको हो ।
शिक्षक नियुक्तिको प्रक्रियामा सूचना लुकाएर गलत कार्य गरेको भन्ने उजुरी प्राप्त नभएको उल्लेख गर्नुहुँदै उजुरी नै नआए पनि इकाईले आवश्यक अध्ययन, अनुसन्धान गर्ने उहाँको भनाइ छ । सूचना लुकाएको भनी सार्वजनिकरुपमा समाचार नै प्रकाशन भएकोले मौखिकरुपमा पनि प्रधानाध्यापकसँग सोधपुछ गर्ने प्रमुख गौतमले बताउनुभएको छ । शिक्षा विकास तथा समन्वय इकाईले नियुक्तिको प्रक्रियामा अनुमति मात्रै दिने जानकारी गराउनुहुँदै नियुक्तिको सवै प्रक्रिया विद्यालय र व्यवस्थापन समितिले गर्ने भएकोले अनियमितता भए, नभएको विषयमा स्पष्ट हुन नसक्ने उहाँको भनाइ छ ।
शिक्षक नियुक्तिपछि अभिलेखका लागि प्राप्त हुने विवरणमा सूचना प्रकाशित गरेको समाचारपत्र प्राप्त भएको उल्लेख गर्नुहुँदै प्रमुख गौतमले भन्नुभयो, “सूचना प्रकाशित समाचारपत्र सही हो या होइन भनेर यकिन गर्न आवश्यक प्रक्रिया अपनाउँछौं । यस विषयमा मन्त्रालयका कानुन अधिकृतसँग बुझेर अगाडि बढ्छु ।” शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले गीताधर्म आधारभूत विद्यालयलाई असार २१ गते शिक्षक नियुक्तिका लागि अनुमति दिएको थियो ।
शिक्षा विकास तथा समन्वय इकाईको अनुमतिपछि साउन ३ गतेको हेटौँडा सन्देश दैनिकमा सूचना प्रकाशित गरेको विवरण विद्यालयले समन्वय इकाईमा बुझाएको छ । तर, हेटौँडा सन्देश दैनिकको साउन ३ गतेको नियमित पृष्ठमा शिक्षक आवश्यकताको सूचना प्रकाशित गरिएको छैन । बरु अतिरिक्त पृष्ठ प्रकाशन गरी सूचना लुकाएको पाइएको छ । हेटौँडा सन्देशले जिल्ला हुलाक कार्यालयमा बुझाएको साउन ३ गतेको अंकमा अतिरिक्त पृष्ठ समावेश छैन । विद्यालयले साउन २१ गतेको मितिमा निमावि तहमा जयन्ती अधिकारी र प्राथमिक तहमा उर्मिला न्यौपानेलाई नियुक्त गरेको छ ।
