हेटौँडाः नगर कार्यपालिकाको पूर्वनिर्धारित बैठक छाडेर हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामा पार्टी अभियानमा बुटबल पुग्नुभएको छ । गत शुक्रबार नगर कार्यपालिकाको बैठक सोमबार दिउँसो १ बजे बस्ने सूचना कार्यपालिका सदस्यलाई पठाइसकिएको थियो । तर, नगरप्रमुख लामा आइतबार बुटवल पुग्नुभयो । आइतबार नै कर्मचारीलाई कार्यपालिका बैठक स्थगित गरिएको सूचना गरिदिन नगरप्रमुखले अह्राउनुभयो ।
कार्यपालिका बैठकका विषयमा बुझ्न नगरप्रमुख लामालाई मोवाइलमा कुरा गर्दा नगरप्रमुख लामाले बैठकको एजेण्डा नभएकोले स्थगित गरिएको बताउनुभयो । “सोमबारका लागि बैठक बोलाइएको थियो । बैठकका लागि आवश्यक एजेण्डा केही नभएकोले स्थगित गरिएको हो”, नगरप्रमुख लामाले भन्नुभयो । नगरप्रमुख कता हुनुहुन्छ भनी सोध्दा नगरप्रमुख लामाले स्थान भने बताउनुभएन । कता हुनुहुन्छ त अहिले भन्ने प्रश्नमा नगरप्रमुख लामाले भन्नुभयो, “म यतै छु ।” नेकपा एकीकृत समाजवादीका एक नेताले भने नगरप्रमुख लामा पार्टी अभियानमा आइतबार बुटवल पुग्नुभएको जानकारी दिनुभयो । नगरप्रमुखको सचिवालयका अधिकारीले भने नगरप्रमुख कहाँ जानुभयो ? के कामले जानुभयो भन्ने जानकारी नभएको उल्लेख गरेका छन् ।
हेटौँडा उपमहानगरपालिकाले हरेक महिनाको २ र १६ गतेका लागि नगर कार्यपालिकाको बैठक बस्ने तालिका नै बनाएको छ । तर, असोज महिनाको २ गते र १६ गते दुबै दिन नगर कार्यपालिकाको बैठक बस्न सकेको छैन । नगर कार्यपालिकाको बैठक यसअघि गत भदौ १८ गते बसेको थियो । चालु आर्थिक वर्षको पहिलो महिना साउन २४ गते पहिलो कार्यपालिका बैठक बसेको थियो ।
कार्यपालिकाको बैठक नियमित तालिकाअनुसार हुन नसक्नुलाई नगरवासीले चासोका साथ हेरेका छन् । यस्तै पछिल्लो समय नगर कार्यपालिकाको बैठकका निर्णयहरु सार्वजनिक नभएको भनेर आलोचना समेत भइरहेको छ । तर, नगर कार्यपालिकाको बैठकका निर्णय सार्वजनिक गर्न उपमहानगरपालिकाले चासो देखाएको छैन ।
