राष्ट्रपति, प्रधानमन्त्री र देउवाको तस्वीर जलाउँदै ।

हेटौँडाः हत्यारालाई माफी दिएको भन्दै हेटौँडामा राष्ट्रपतिको तस्वीर जलाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को भातृ संगठन राष्ट्रिय युवा मोर्चाले संविधान दिवसको अवसरमा राष्ट्रपतिले नेपालगन्जका (रिगल) भन्ने गुण्डा नाइके हत्यारा योगराज ढकाललाई आम माफी दिने निर्णयको विरोध गर्दै राष्ट्रपति, प्रधानमन्त्री र गृहमन्त्रीको राजिनामा समेत माग गरेको छ ।

हेटौंडा–२ स्थित राप्रपा मकवानपुरको पार्टी कार्यालयमा भेला भई व्यानर तथा प्लेकार्डहरु बोकेर नाराबाजी गर्दै पार्टी कार्यालयबाट सिमाचोकसम्म र्याली निकालिएको थियो । र्यालीमा कानुनी राज्यको प्रत्याभूति गर, सानालाई मात्र शासन ठूलोलाई चाहीँ आसन, सर्वोच्चको अन्तिम आश भारती मानन्धरलाई हाल्दे सास, पीडितलाई न्याय दे, गृहमन्त्री राजिनामा दे, हत्यारालाई कारवाही गर भन्दै नाराबाजी गरेका थिए ।

विरोध र्यालीपछि राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाको फोटोमा आगो लगाएका थिए । विरोध ¥यालीपछि कोणसभामा राप्रपा केन्द्रीय सदस्य नवराज विष्टले अहिले जनताले न्यायको आश गर्ने अवस्था नरहेको बताउँदै हत्यारा, ज्यानमारा, गुण्डा नाइकेहरु धमाधम छुट्दै गएको बताउनुभयो । गुण्डा नाइके छुट्दै गर्दा न्यायप्रेमी जनताले अहिले कानुनी राज्यको प्रत्याभूति गर्न नसकेको दावी गर्दै हिजोका दिनमा एउटा राजा हटाएको तर आज सयौं राजाहरु जन्मिएकाले देशलाई बर्बाद गर्दै लगेको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय युवा मोर्चा मकवानपुर संयोजक विवेक विक्रम शाह र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन मकवानपुर संयोजक आशिष चौलागाईंको संयुक्त नेतृत्व तथा राप्रपा मकवानपुरका उद्योग विभाग प्रमुख सम्राट सिंह, राप्रपा मकवानपुर वरिष्ठ उपाध्यक्ष सागर थापा लगायत नेता, कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।