वडा कार्यालय उद्घाटन गर्नुहुँदै नगरप्रमुख मीना कुमारी लामा ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको १२ नम्बर वडा कार्यालयको नवनिर्मित भवन उद्घाटन गरिएको छ । हेटौँडा–१२, पदमपोखरीको हात्तीगौँडामा बिहिबार नगर प्रमुख मीना कुमारी लामाले वडा कार्यालय भवन उद्घाटन गर्नुभएको हो । वडासचिव रामलाल थिङकाअनुसार ७० लाख रुपैयाँ लागतमा २ तले भवन निर्माण गरिएको हो ।

नवनिर्मित भवनको पहिलो तल्लामा ४ कोठा रहेको छ भने दोस्रो तल्लामा एउटा कोठा र एउटा सभाकक्ष रहेको छ । सभाकक्षमा ५० जना अटाउन सक्ने रहेको वडा सचिव थिङले बताउनुभयो । २०७९ साल फागुन महिनामै निर्माण सम्पन्न भए पनि विद्युत जडान गर्न ढिलाई भएका कारण कार्यालय सार्न ढिलो भएको वडासचिवको भनाइ छ । विद्युत जडान गर्न ढिलाई भइरहेको विषयमा नगरप्रमुखलाई जानकारी गराएपछि एक सातामै विद्युत जडान भएको वडासचिव लामाले जानकारी दिनुभयो ।

वडा कार्यालय उद्घाटन कार्यक्रममा कार्यवाहक वडाध्यक्ष ज्ञानबहादुर श्रेष्ठ, नगर कार्यपालिका सदस्य रुक्मिणी गोङ्बा, राजनीतिक दलका प्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधि, विद्यालयका प्रतिनिधिको सहभागिता रहेको थियो । यसअघि वडा कार्यालय भाडाको घरमा सञ्चालन हुँदै आएको थियो । मासिक १५ हजार रुपैयाँ भाडा तिर्दै आएको वडा सचिव थिङले बताउनभुयो ।