अहिले सोह्रश्राद्ध जारी छ । वडा दसैंको सुरुवात हुने दिन घटस्थापनाअघि पितृलाई सम्झने धार्मिक एवम् साँस्कृतिक पक्षको रुपमा सोह्र श्राद्धलाई बुझ्न सकिन्छ । पीतृप्रतिको सम्मान हिन्दु धर्म एवम् पूर्वीय सभ्यताको महत्वपूर्ण पक्ष हो । प्रमुख चाडपर्वमा मात्रै नभई परिवारमा महत्वपूर्ण शुभ कार्य गर्नुअघि पनि पितृलाई सम्झने हिन्दु धर्मको विशेषता हो । सोह्र श्राद्धको सन्दर्भ र महत्वका विषयमा ज्योतिष पण्डित गोविन्द घिमिरेसँग समृद्ध समाज दैनिकका लागि सुमिना चौलागाईले गर्नुभएको कुराकानीको सम्पादित अंशः
समाजः अहिले चलिरहेको सोह्र श्राद्धलाई कसरी व्याख्या गर्नु हुन्छ ?
घिमिरेः यो बेला असोजको कृष्णपक्ष अर्थात पितृपक्ष भनिन्छ । यो पक्षलाई ऋतुगत रुपमा हेर्दा हिन्दु संस्कृतिको परम्परामा के छ भने विशेष समय अनुसारका देवीदेवतादेखि लिएर पितृसँग सम्बिन्धत भएर चाडपर्वहरु मनाउने गरिन्छ । त्यो मनाउने क्रम्मा दशैँ–तिहार जस्ता ठुलाठुला चाडपर्वहरु सुरु हुने समय भयो । हामी देवी भागवत उपासनामा लाग्नु भन्दा पहिला पितृहरुलाई सन्तुष्ट बनाएर हामी दोस्रो चरणको उपासनामा जान सक्छौँ । मरेको पितृहरुलाई मात्र पुजा गर्नु भन्दा हामी भित्र भएका नकारात्मक कुराहरुलाई त्याग्ने एउटा पुजन हो र आफ्नो पुर्खा र पुर्वजहरुलाई त्यही अनुसारको पुजा र श्रद्धा गरिने कार्यलाई सोह्र श्राद्ध भनिन्छ ।
समाजः सोह्र श्राद्धको धार्मिक एवम् साँस्कृतिक महत्वहरु चाहिँ के–के छन् ?
घिमिरेः सोह्र श्राद्धलाई धार्मिक रुपमा भन्दा पनि मैले यसलाई कर्तव्यको रुपमा बुझेको छु । एउटा पुर्खाबाट जुन जिवन पायौँ, एउटा पुर्खाबाट जिवन पाइसकेपछि आफ्नो पुर्खाहरुप्रति अनुग्रहित कसरी हुने ? आफ्नो पुर्खाहलाई कसरी सम्मान प्रकट गर्ने ? मैले यो जिवन पाएको कारणले मेरा पुर्खाहरु तपाईहरुलाई मेरो तर्फबाट धन्यवाद छ । त्यो धन्यवादको प्रक्रिया नै सोह्र श्राद्ध हो भन्ने कुरा मैले बुझेको छु । आफ्नो पुर्खाहरुलाई धन्यवाद गर्ने पाटो हुनै प¥यो एउटा विधान हुनु पर्यो त्यो नै श्राद्ध हो ।
समाजः पछिल्लो समयमा पितृहरुलाई नसम्झनेहरु पनि छन् । उनीहरुले चाहिँ के गर्नुपर्ला ?
घिमिरेः पुत्रले आफ्नो जिवनमा ३ वटा कामहरु गरे मात्र उ पुत्र अर्थात् छोरा हुन्छ । बाचुन्जेल पनि गर्नै पर्यो, मरेपछि गर्नुपर्ने संस्कार पनि गर्नै पर्यो र मृत्युपर्यन्त पनि गर्नै पर्दछ । मृत्यु भन्दा अगाडिको त्यो भन्दा पछाडिको र मृत्युको अवस्थामा ३ वटा कर्म जसले गर्दछ त्यो नै पुत्र हो ।
समाजः हिन्दु धर्मावलम्बीहरुले पितृलाई सम्झँदै श्राद्ध गर्दछन् । अन्य समुदायका पितृलाई कसरी सम्झेको देख्नु भएको छ ।
घिमिरेः अब मृत्यु भनेको के हो भन्दा पनि धर्म विषयका आ–आफ्ना दर्शन शास्त्र हुन्छ । धर्मावलम्बीहरुको मान्यता के भयो भने आत्मा मुक्त भइसक्यो अब आत्माको पुनः निर्माण हुँदैन । फेरी आत्मा फर्केर आउँदैन र फेरि जन्म हुँदैन भन्ने मान्यता भइसकेपछि उनीहरुले त्यो मान्यतामा आधारित रहेर जति गर्नुपर्ने हो त्यहि नै टुङ्ग्याउनु पर्ने गरी विधान गर्यो । अब हामीहरुले आत्माको पुनर्जन्म हुन्छ भनेपछि आत्मा त छ । आत्मा रहिरहने भयो । आत्माको तत्व सधैं रहिरहने भयो । त्यसैले हामीहरुले पितृको उपासना गरी राख्यौँ यो उपासना अरु धर्मालम्बीहरुले त्यही समयमा आफ्ना विधान अनुसार टुङ्गाई दियो । जिन्दगीमा कर्म नगरिकन विधान हुँदैन । जुन कर्म ग¥यो त्यही नै विधान हो जस्तो मलाई लाग्छ ।
समाजः अहिले श्राद्ध गर्नका लागि पण्डितको अभाव भएको भनिन्छ । श्राद्ध गर्ने पण्डितको उपलब्धता कस्तो छ ?
घिमिरेः गाउँघरमा अहिले पनि के मान्यता छ भने केहि बन्न सकिएन भने पनि श्राद्ध गर्न सक्ने बाहुनको छोरा हुँ, श्राद्ध गर्न सक्छु भन्ने मान्यता छ । तर विधानलाई हेर्दा उच्चारणमा पनि उच्चारणगत त्रुटिमा हेर्दा पनि दुबै ध्यान दिएर हेर्नुपर्ने विधि भनेकै श्राद्ध विधि हो भन्दा पनि के भनिन्छ भने देवताहरु भाव मात्र हेर्छन् । कुन सोचाइले कुन विचारले श्राद्ध गरेको छ । ब्राह्मणले पढेको कुरामा पनि सही, शुद्ध छ कि छैन हामीले त्यो कुराको ख्याल गर्नुपर्छ । अब यो सबै कुरालाई हेर्दा पण्डितहरुको अभाव खाँचो छ ।
समाजः हिन्दु धर्मावलम्बीहरुको सोह्र श्राद्धमा कतिको पितृलाई सम्झिन्छ त ?
घिमिरेः शास्त्रले नै ३ पुस्ता भनेको छ । किन भन्यो त भन्दा आफुभन्दा माथिको पुस्ता, आफ्ना माता–पितालाई पशु स्वरुपमा, त्यो भन्दा माथि हजुरबुवालाई रुद्र स्वरुपमा र त्यो भन्दा माथि आदित्य स्वरुपमा लिइन्छ । अब त्यो पशु, रुद्र र आदित्य स्वरुप भनेको श्रेणी हो । यही ३ वटा कुराहरुलाई स्मरण गर्नुको कारण के हो भन्दा अरु पूर्वजहरु आदित्य स्वरुपमा भइसकेपछि उनीहरुलाई हामीले स्मरण गर्नुपर्छ ।