गाउँपालिकाले विद्यालयलाई उपलब्ध गराएको बस ।

हेटौँडाः भीमफेदी गाउँपालिका–४ स्थित बाराही माध्यमिक विद्यालयलाई गाउँपालिकाले विद्यालय बस हस्तान्तरण गरेको छ । आइतबार भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा र उपाध्यक्ष सञ्जीव श्रेष्ठको उपस्थितिमा एक कार्यक्रमका बीच बस हस्तान्तरण गरिएको हो । भीमफेदी गाउँपालिकाको गत आर्थिक वर्षको ३० लाख रुपैयाँ बजेटले बस खरिद गरिएको गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिनुभयो ।

वडाकै एक मात्र माध्यमिक तहको विद्यालय भएकोले टाढा–टाढाबाट आउनुपर्ने विद्यार्थीको सहजताका लागि बस सेवा सुरु गर्न लागिएको अध्यक्ष लामाले बताउनुभयो । भौगोलिक हिसाबले विकट भएकोले स्थानीय अभिभावक र विद्यालयको माग बमोजिम विद्यालयमा बसको व्यवस्था भएको हो । भीमफेदी गाउँपालिकाका ८ वटा वडामध्ये ३ नम्बर वडामा मात्रै माध्यमिक तहको विद्यालय छैन । बाराही माविमा बस सञ्चालन भएसँगै ३ नम्बर वडाका विद्यार्थीलाई सहज हुने बताइएको छ ।

नमूना चाबी हस्तान्तरण गर्नुहुँदै गाउँपालिका अध्यक्ष हिदम लामा ।

भीमफेदीको ओखर, बोखर, इचुङ, लेख पान्द्राङ्ग, चिलाउने, गोठडाँडा, ज्याल्टार, गोल्पिङ्गबेसी, चिउरी बगैँचा लगाएको ठाउँबाट आउने विद्यार्थीलाई सहज हुने बताइएको छ । गाउँपालिका अध्यक्ष लामाले सबै अभिभावकलाई अब सरकारी विद्यालयमै गुणस्तरीय शिक्षा प्रदान हुने भएकोले आफ्ना नानी बाबुलाई विद्यालय पठाउन अनुरोध गर्नुभएको छ । विद्यालयका प्रधानाध्यापक दुर्गाप्रसाद गौतमका अनुसार बस सेवा सञ्चालनमा आएपछि २ घण्टा हिँडेर आउनुपर्ने विद्यार्थीलाई राहत हुनेछ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा भीमफेदी गाउँपालिकाका वडा अध्यक्षहरूका सागर पाण्डे, जहार सिङ्ग लामा, कासिराम बज्यु, प्रकाश पुडासैनी, शिक्षक अभिभावक विद्यालय लगायतको उपस्थिति रहेको थियो । यसअघि गाउँपालिकाले भीमफेदी–२, भैँसेस्थित कृष्ण माविका लागि पनि एउटा बस खरिद गरिदिएको थियो । भीमफेदी गाउँपालिका–२ स्थित कृष्ण माविमा २ वटा बस रहेको छ भने भीमफेदी–४ स्थित बाराही मावि र भीमफेदी–६ स्थित महेन्द्र माविमा एउटा÷एउटा बस सञ्चालनमा रहेको छ ।