हेटौंडाः रुकुम पश्चिमको चौरजहारीमा जेठ १० गते भएको दलित युवाको हत्याकाण्डको सत्यतथ्य छानविन गरी दोषीलाई कारवाही गर्न माग गर्दै दलित संजाल मकवानपुरले आज बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । दलित सञ्जाल मकवानपुरको अगुवाईमा व्यानरसहित मुख्यमन्त्री कार्यालय पुगेर ज्ञापनपत्र बुझाएको हो । दलित सञ्जालले उच्चस्तरीय आयोग गठन गर्न पनि माग गरेको छ ।
घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कडाभन्दा कडा कारवाहीको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । मंगलबार उनीहरुले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा १ घण्टा धर्ना दिएका थिए । यसअघि जेठ १६ गते दलित समुदायका विभिन्न संघ, संस्थाका प्रतिनिधिले हेटौंडाको बुद्धचोकमा प्रदर्शन गरेका थिए । दलित युवकले मल्ल थरकी युवतीसँग प्रेम बिवाह गर्न खोज्दा केटीका परिवार र गाउँलेको आक्रमणमा जेठ १० गते दलित केटासहित ६ जना युवाको हत्या भएको थियो ।