हेटौंडाः कर विवरण तथा कर बुझाउन आन्तरिक रावश्व विभागले जारी गरेको सूचना खारेज गर्न व्यवसायीको छाता संगठन मकवानपुर चेम्बर अफ कमर्सले माग गरेको छ । लकडाउनका कारण आवागमन सहज नहुनु, आर्थिक अवस्था समेत असहज भएका कारण कर विवरण तयार पार्न र राजश्व दाखिला गर्न सम्भव नभएको भन्दै मकवानपुर चेम्बर अफ कमर्सका अध्यक्ष विजय कुमार श्रेष्ठले आज प्रेस विज्ञप्ति जारी गर्नुभएको छ ।
व्यवसायीको समस्याका बारेमा ज्ञापनपत्र बुझाउन भनेर आन्तरिक राजश्व कार्यालय जाँदा कार्यालय नै बन्द रहेको उल्लेख गर्नुहुँदै उहाँले भन्नुभयो, ‘राजश्व दाखिला गर्ने कार्यालय नै सञ्चालन गर्न सक्ने अवस्थमा नभएको सरकारले व्यवसायीलाई करविवरण र कर दाखिला गर भन्नु स्वभाविक भएन ।’ अहिले जारी गरिएको सूचना खारेज गरी सहज अवस्थामा नयाँ मिति तय गर्न पनि चेम्बरले माग गरेको छ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण ७१ दिनदेखि लकडाउन जारी रहेको र जेठ ३२ गतेसम्म लकडाउन कायमै रहने अवस्थामा जेठ २५ गतेसम्ममा कर विवरण र कर दाखिला गर्न गरिएको सूचनाअनुसार व्यवसायीले कर विवरण बुझाउने र कर दाखिला गर्न नसक्ने चेम्बरको ठहर छ ।
चेम्बर अफ कमर्सले व्यावसायिक वातावरण बनेको एक महिनापछि कर विवरण बुझाउने र तीन महिनापछि कर दाखिला गर्ने मिति तय गर्न माग गरेको छ । व्यावसायिक कारोबार ठप्प रहेको भन्दै चेम्बर अफ कमर्सले तरलताको अभावमा कर्मचारीको पारिश्रमिक, बैंकको व्याज र किस्ता, अन्य विविध खर्च समेत धान्न नसकिरहेको कठिन अवस्थामा कर दाखिला गर्न असमर्थ रहने समेत जनाएको छ ।