नवउद्यम कार्यशालाको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री चित्रकार ।

हेटौँडाः नवउद्यम प्रवद्र्धन गर्ने उद्देश्यले उद्योग संघ मकवानपुरले आइतबारबाट नवउद्यम कार्यशालाको सुरुवात गरेको छ । नवउद्यमी तथा व्यवसायीलाई सहभागिताका लागि आव्हान गरेर संघले इच्छुकलाई कार्यशालामा सहभागी गराएको छ । कार्यशालामा सहभागी हुन प्रस्ताव पेश गरेका २१ मध्ये उपयुक्त विभिन्न १८ वटा योजना प्रस्तावक कार्यशालामा सहभागी छन् ।

कार्यशालामा कृषिमा आधारित उद्यम, अनलाइन व्यवसाय, औषधिजन्य, फेसन डिजाइन, इलेक्ट्रोनिक्स लगायतका क्षेत्रमा नवउद्यमी, व्यवसायीको सहभागिता रहेको छ । हरेक दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म हुने कार्यशाला बुधबारसम्म चल्नेछ । ४ दिनको कार्यशालापछि आआफ्ना योजनाका बारेमा बिहिबार एकदिने हाटबजारमा सरोकारवालालाई नवउद्यमी, व्यवसायीले आफ्ना योजनाका बारेमा जानकारी गराउने छन् । उद्योग संघ मकवानपुरले पहिलो पटक यस किसिमको कार्यक्रम गरेको हो । नवउद्यम प्रवद्र्धनमा विज्ञ परामर्श कम्पनिको रुपमा कार्य गर्दै आएको अन्तरप्रेरणाले कार्यशालामा प्राविधिक सहयोग गर्नेछ । बागमती प्रदेश सरकारको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयसँगको सहकार्यमा उद्योग संघले नवउद्यम कार्यशालाको आयोजना गरेको हो ।

कार्यशालामा सहभागी नवउद्यमी, व्यवसायीहरु ।

आइतबार बागमती प्रदेश सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रामकृष्ण चित्रकारले कार्यशालाको उद्घाटन गर्नुभयो । कार्यशालासँगै उद्योग संघले स्थापना गरेको बिजनेश इन्कुवेशन सेन्टरको पनि मन्त्री चित्रकारले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री चित्रकारले निजी क्षेत्रको सहयोगीको रुपमा प्रदेश सरकारले साथ र सहयोग गर्ने बताउनुभयो । मुलुकको समग्र विकासमा निजी क्षेत्रको अगुवाई आवश्यक भएको उल्लेख गर्नुहुँदै उद्योग संघ मकवानपुरले महत्वपूर्ण र अनुकरणीय कार्य गरेको मन्त्री चित्रकारको भनाइ थियो ।

उद्यमी, व्यवसायी हुने हुने योजनामा रहेका यूवालाई उद्यम तथा व्यवसायका विषयमा प्रशिक्षित गराउने उद्देश्यले उद्योग संघले बिजनेश इन्कुबेसन सेन्टर स्थापना गरेको उद्योग संघ मकवानपुरका अध्यक्ष स्वागतराज प्याकुरेलले जानकारी दिनुभयो । प्रारम्भिक चरणमा बिजनेश इन्कुबेसन सेन्टरले युवा उद्यमीलाई उनीहरुको अवधारणालाई स्पष्ट पार्न दक्ष परामर्शदातासँग भिडाएर उपयुक्त मार्गदर्शन गराउनुका साथै सरकारी निकायसँग सहकार्यको अवसर खोजी गर्न सहयोग गरिने अध्यक्ष प्याकुरेलले बताउनुभयो । जिल्लामा शैक्षिक संस्था, सरकारी निकाय र निजी क्षेत्रबीच सहकार्य गरी व्यावसायिक वातावरण बनाएर नवउद्यम तथा व्यवसाय प्रवद्र्धन गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ । उद्योग संघ मकवानपुरका निवर्तमान अध्यक्ष लेखराज पोखरेलको संयोजकत्वमा नवउद्यम कार्यशालाको आयोजना गरिएको हो ।