
हेटौँडाः हेटौँडा–१५, शिखरपानीस्थित शिखरपानी खानेपानी योजना हेटौँडा खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण गरिएको छ । आइतबार एक कार्यक्रमकाबीच ४५० धारा रहेको खानेपानी योजना हस्तान्तरण गरिएको हो । खानेपानी योजना बोर्डमा हस्तान्तरण भएसँगै उपभोक्ताले मासिक १० हजार लिटर खानेपानी निशूल्क उपभोग गर्न पाउनेछन् । यसअघि उपभोक्ताले मासिक १० हजार लिटर पानी उपभोग गर्दा दुइ सय ५० रुपैयाँ भुक्तानी गर्दै आएका थिए ।
हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीना कुमारी लामा, उपप्रमुख राजेश बानियाँको उपस्थितिमा खानेपानी योजना हस्तान्तरण गरिएको हो । वडाअध्यक्ष सुनिल मोक्तानको पनि उपस्थिति रहेको कार्यक्रममा हेटौँडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्टलाई उपभोक्ता समितिको कागजपत्र हस्तान्तरण गरिएको थियो । कार्यक्रममा खानेपानी ट्याङ्की निर्माण गर्न जग्गा उपलबध गराउने जग्गादाताहरुलाई सम्मान गरिएको थियो । दीर्घसेवा गरी उमेर हदका कारण अनिवार्य अवकाश पाएका कर्मचारी सेते वाईबालाई पनि सम्मान गरिएको थियो ।
शिखरपानी खानेपानी तथा सरसफाई उपभोक्ता समितिकी अध्यक्ष पातली गोङ्वाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका कार्यालय प्रमुख बिष्णु प्रसाद सापकोटा, पूर्व गाविस अध्यक्ष प्रेम भोम्जन, समाजसेवी भानु प्रताप बिडारी, खानेपानी उपभोक्ता समितिका पूर्व अध्यक्ष पञ्च बहादुर थिङको पनि उपस्थिति रहेको थियो । हेटौँडा खानेपानी व्यवस्थापन बोर्डमा २५ हजार ५ सय धारा संख्या रहेको छ ।