हेटौंडाः भोलि बुधबार बिहानदेखि हेटौंडा बजार केही सहज हुने भएको छ । व्यवसायीले सुरक्षा सतर्कता अपनाएर कारोबार व्यवस्थित गर्ने गरी बजारका सबै पसल खुला गरिने भएको छ । जिल्लास्तरीय कमाण्ड पोष्टको बैठकले अनौपचारिक रुपमा बजारलाई केही सहज बनाउने सहमति गरेको हो ।
कमाण्ड पोष्टको आज मंगलबार बसेको बैठकमा व्यवसायीको मागअनुसार सुरक्षा सतर्कता अपनाएर बिहान ९ बजेसम्म सबैखाले पसल सञ्चालन गर्ने सहमति भएको बैठकमा सहभागी एक अधिकारीले जानकारी दिए । लामो समयदेखि लकडाउन भएका कारण जनजीवन प्रभावित भइरहेका बेला व्यवसायीले सोमबार मात्रै बजार सहज गर्न स्थानीय प्रशासनसँग आग्रह गरेको थियो । स्थानीय प्रशासन र कमाण्ड पोष्टले औपचारिक रुपमा निर्णय गर्न सक्ने अवस्था नभएको र व्यवसायीको दबाव बढेसँगै अनौपचारिक सहमति गरेको बुझिएको छ ।
केहीदिन यता स्थानीय प्रशासन र प्रहरीले बजारक्षेत्रका पसलहरु बिहानको समयमा खुल्ला गर्न केही सहज समेत गर्दै आएको थियो । मंगलबार बिहान अधिकांश पसलहरु खुलेका थिए । केहीदिनदेखि स्थानीय प्रशासनले सहज गरेकै कारण कतिपय व्यवसायी दिनभर आधा सटर खुल्ला राखेर बस्ने समेत गरेका छन् । विशेषगरी मोवाइल पसल र कपडा पसल ग्राहक आउँदा दिउँसो पनि भित्री बाटो या सटर नै उठाएर व्यापार गरिरहेका छन् ।