हेटौँडाः क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) को केन्द्रीय सदस्यमा मकवानपुरका करण महत्रा निर्वाचित हुनुभएको छ । शनिबार काठमाडौंमा सम्पन्न निर्वाचनबाट महत्रा केन्द्रीय सदस्य निर्वाचित हुनुभएको हो । यसअघि पनि केन्द्रीय सदस्य रहनुभएका महत्रा मकवानपुर जिल्ला अध्यक्ष समेत हुनुहुन्छ ।
शनिबार भएको निर्वाचनमा खुलातर्फ केन्द्रीय सदस्यका उम्मेदवार मकवानपुरका महत्रा र कास्कीका ऋषिराम गौतमले बराबरी मत प्राप्त गर्नुभएको थियो । ८५ जना मतदाताले मतदान गरेकोमा दुबैजनाले समान २६ मत ल्याउँदै खुलातर्फ पाँचौ स्थानमा रहेका थिए । खुलातर्फ पाँचजना सदस्य छनोटका लागि भएको निर्वाचनमा समान २६ मतले बराबरी भएपछि गोलाप्रथामा मकवानपुरका महत्रा निर्वाचित हुनुभएको हो ।
शनिबार काठमाडौंमा सम्पन्न निर्वाचनबाट अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा पदम खड्का सर्वसम्मत निर्वाचित भएका थिए । सचिवमा भने पारस खड्का निर्वाचित हुनुभएको छ । बागमती प्रदेश समितिका अध्यक्ष समेत रहनुभएका खड्काले प्रशान्त विक्रम मल्ललाई पराजित गर्नुहुँदै केन्द्रीय समितिको सचिवमा निर्वाचित हुनुभएको हो । खड्काले ४८ मत ल्याएर निर्वाचित हुनुहुँदा मल्लले ३७ मत मात्रै प्राप्त गर्नुभयो । नवनिर्वाचित समितिको कार्यकाल ४ वर्ष हुनेछ ।
