हेटौँडाः हेटौँडा–१० स्थित निर्माणाधिन टोनी हेगन पार्क क्षेत्रमा तामाङ संग्रहालय निर्माणको कार्य सुरु भएको छ । सोमबार तामाङ समुदायको धार्मिक विधिअनुसार भूमि पुजाको कार्य गरिएको छ । उपभोक्ता समितिमार्फत निर्माण गर्न सुरु गरिएको संग्रहालयका लागि हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
सोमबार बिहान हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको उपस्थितिमा लामा गुरु टुल्कु लामा छुल्ठिम दोर्जेले भूमि पुजा गर्नुभएको छ । नेपाल तामाङ घेदुङ मकवानपुरका उपाध्यक्ष आत्माराम मोक्तानको अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको छ । ४ हजार वर्गफिटमा डेढ तल्ला निर्माण सम्पन्न गर्ने गरी संग्रहालय भवन निर्माणको कार्य सुरुवात गरिएको उपभोक्ता समितिका अध्यक्ष आत्माराम मोक्तानले जानकारी दिनुभएको छ ।
गत आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेटमै तामाङ संग्रहालय स्थापना गर्ने भनिए पनि एक वर्षपछि मात्रै भवन निर्माणको कार्य सुरु हुन लागेको हो । कार्यक्रममा वडा अध्यक्ष फुर्वा दोर्जे लामाको पनि उपस्थिति रहेको थियो । नगर प्रमुख मीना कुमारी लामाले आफ्नै समुदायलाई लक्षित गरी तामाङ संग्रहालय निर्माण गर्ने, उपप्रमुख राजेश बानियाँले ऐतिहासिक मकवानपुरगढी परिसरमा तत्कालिन मकवानपुर राज्यका सेनापति कनक सिं बानियाँको प्रतिमा निर्माण गर्ने भनेपछि आमरुपमा आलोचना भएको थियो । सरोकारवालाले तामाङ समुदायको मात्रै नभई समग्र जनजाति समुदायको संग्रहालय निर्माण गर्न नगर प्रमुखलाई सुझाव समेत दिएका थिए । यस्तै नगर उपप्रमुख बानियाँले आफ्नै पुर्खाको प्रतिमा अर्कै पालिकामा निर्माण गर्ने निर्णयको आलोचना भएपछि उक्त योजना अगाडि बढेको छैन ।
