हेटौंडाः कार्यसम्पादन मूल्यांकनबाट मकवानपुर जिल्लाभरिका विद्यालयहरुबाट १६ जना प्राथमिक तहका शिक्षकहरु तृतीय श्रेणीबाट द्वितीय श्रेणीमा बढुवा भएका छन् । आइतबार बढुवा भएका शिक्षकहरुलाई शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले नियुक्तिपत्र बुझाएको छ ।
बढुवा हुनेमा हेटौंडा उपमहानगरपालिकाबाट १० जना, मकवानपुरगढी गाउँपालिकाबाट ३ जना, मनहरी गाउँपालिका, भीमफेदी गाउँपालिका र बकैया गाउँपालिकाका विद्यालयहरुबाट एक–एकजना गरी १६ जना प्राथमिक तहका शिक्षकहरु रहेको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्राविधिक प्रेमचन्द्रप्रसाद चौधरीले जानकारी दिनुभयो ।
बढुवा भएका शिक्षकहरुले तलब वृद्धि, श्रेणी वृद्धि र ग्रेड वृद्धिजस्ता सुविधा पाउनेछन् । प्राविधिक चौधरीका अनुसार ५ वर्ष स्थायी सेवा पूरा गरेका शिक्षकको कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा गर्ने गरिएको छ ।











