रगतबिना मानिसको जीवन सम्भव छैन । मानिसको शरीरलाई जीवित राख्न र शरीर सञ्चालन गर्न रगत अपरिहार्य हुन्छ । रगतकै सहायताबाट मानिसले श्वासप्रश्वास क्रिया सम्पन्न गर्दछ भने रगतबाट नै शक्ति प्रवाह हुन्छ । रगत मानिसको लागि जीवन हो । त्यसैले रक्तदानलाई जीवनदान मानिँदै आएको छ । स्व–इच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ । एक व्यक्तिले दान गरेको रगतले अर्को व्यक्तिको ज्यान बचाउने सकिन्छ । आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै हो । नेपालमा करिब ८ दशक अघिदेखि रक्तदान गर्ने कार्य सुरु भएको पाइन्छ । समाजेवी दयावीरसिंह कंसाकारलाई नेपालको पहिलो रक्तदाता मानिन्छ । बढ्दो सवारी दुर्घटना, बाढी, पहिरो र भूकम्पजस्ता प्राकृतिक प्रकोपका घटनाको समयमा रगतको आवश्यकता बढी हुन्छ । महिलाको अनिच्छित गर्भधारण, गर्भपतन र विभिन्न रोगको शल्यक्रियाका समयमा पनि रगतको आवश्यकता पर्दछ । यस्तो जटिल अवस्थामा आवश्यक पर्ने रगतको अभावमा मानिसको मृत्यु नै हुनसक्ने भएकाले रक्तदान जीवनदान भनिएको हो ।

मानव शरीरमा तरलको रुपमा रहने रगत रातो तथा सेतो रक्तकोष र प्लेटलेट्स मिलेर बनेको हुन्छ । रातो रक्तकोषले शरीरमा अक्सिजन परिवहनमा सघाउँछ भने सेतो रक्तकोषले रोगविरुद्ध लड्ने क्षमता विकास गर्छ । यसैले रगतबिना शरीरमा श्वासप्रश्वास क्रिया हुन सक्दैन । विभिन्न दुर्घटना, चोटपटक, घाउ, रोग आदिको कारणबाट मानिसको शरीरमा रगतको कमी हुने गर्दछ । यस्तो अवस्थामा तत्काल शरीरमा रगत दिन सकिएन भने मानिसको ज्यान जानसक्छ । ए, बी, ओ र एबी पोजेटिभ/नेगेटिभ गरी मानव रक्तसमूह ८ प्रकारका हुन्छन् । प्रत्येक मानिसमा यिनैमध्ये एउटा रक्तसमूह हुन्छ । आफ्ना रक्तसमूह अनुसारका मेल खाने समूहहरुका रगत अर्को व्यक्तिको पनि प्रयोग गर्न सकिन्छ ।

नेपालमा रक्तदानको लागि आवश्यक सहयोग गर्ने, रगतको संकलन तथा भण्डारण गर्ने र आवश्यकता अनुसार रगत उपलब्ध गराउने काम नेपाल रेडक्रस सोसाइटी अन्तर्गतको रक्तसञ्चार केन्द्रले गर्दै आएको छ । देशका विभिन्न भागमा केन्द्रको रक्त भण्डारण स्थल (ब्लड बैंक) रहेका छन् । हेटौंडामा पनि रक्तसञ्चार केन्द्रले विभिन्न संघसंस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा प्राविधिक सहयोग गर्ने , रक्तदान कार्यक्रममा संकलन भएको रगतलाई भण्डारण गर्ने र आवश्यकताअनुसार उपलब्ध गराउने गर्दछ । रक्तसञ्चार केन्द्र हेटौंडाले स्थानीय तहको सहकार्यमा निःशुल्क रगतसमेत उपलब्ध गराउने गरको छ । पछिल्लो समय विभिन्न जटिल रोगहरुको उपचार एवम् शल्यक्रिया हेटौंडामै हुन थालेपछि यहाँ रगतको माग पनि बढ्दै गएको छ । फलस्वरुप रक्तसञ्चार केन्द्रले रक्तदान गर्न/गराउन आग्रह गर्ने गरेको छ । भदौ महिनामा हेटौंडामा २ सय ३९ जनाले रक्तदान गरेका छन् । विभिन्न संघसंस्थाले आयोजना गरेको कार्यक्रममा रक्तदाताले रक्तदान गरेका हुन् । थप ८५ जनाले भने केन्द्रमै आएर रक्तदान गरेका हुन् । यस्तै, गत साउन महिनामा ३ सय ६२ जनाले रक्तदान गरेका थिए । साउन महिनामा भएका रक्तदान कार्यक्रममार्फत् ३ सय ६२ जनाबाट रगत संकलन गरिएको हो । केन्द्रले भदौमा ३ सय ८२ जना र साउनमा ४ सय ८३ जनालाई रगत वितरण गरेको छ । केन्द्रमा भदौ अन्त्यमा सय युनिट रगतको स्टक रहेको छ ।

रगतको अभावमा बिरामी मर्न नदिन तत्काल मिल्ने रक्तसमूहका व्यक्ति भेटिन गाह्रो हुन्छ । बिरामीलाई आवश्यक पर्नेवित्तिकै रगत उपलब्ध गराउन रक्तसञ्चार केन्द्रले रगतको भण्डारण गर्ने गरेको छ । यसरी केन्द्रमा भण्डारण गरिने रगतको मौज्दात कायम राख्न समयसमयमा रक्तदान कार्यक्रममार्फत् रगत संकलन गर्नु आवश्यक हुन्छ । रगतको अभावमा अकालमा ज्यान नजाओस् भनेर रक्तदान गरिन्छ । रक्तदान गर्नु भनेको अरुको ज्यान जोगाउनुमात्र नभएर आफूलाई चाहिएको समयमा पनि सहज रगत पाउनु हो । रक्तदान गर्नका लागि सामान्यतया ५० केजी तौल भएको कम्तीमा पनि १८ वर्ष र बढीमा ६० वर्षको सीमा तोकिएको छ । रक्तदानलाई नियमित बनाउन सकेमा रगतको अभावमा कसैको ज्यान जान पाउँदैन र रक्तदान जीवनदान भन्ने उक्ति सार्थक बन्छ ।