हेटौंडाः मकवानपुरमा भदौ महिनामा २ सय ३९ जनाले रक्तदान गरेका छन् । विभिन्न संघसंस्थाले आयोजना गरेको कार्यक्रम तथा रक्तसञ्चार केन्द्रमै पुगेर भदौ महिनामा २ सय ३९ जनाले रक्तदान गरेका हुन् ।
हेटौंडा–१ मा रहेको रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा विभिन्न संघसंस्थाले रक्तदान कार्यक्रम गर्ने गरेका छन् । रक्तदानबाट २ सय ३९ युनिट रगत संकलन भएको रक्तसञ्चार केन्द्रका प्राविधिक किशोर सापकोटाले बताउनुभयो । भदौ महिनामा ६ वटा संस्थाले रक्तदान कार्यक्रम आयोजना गरेका थिए । भदौ २ गते हेटौंडा–७, नागस्वतीस्थित नेपाल रेडक्रस सोसाइटी नागस्वती उपशाखाले आयोजना गरेको कार्यक्रममा ३९ जनाले रक्तदान गरेका थिए ।
यस्तै, भदौ ९ गते हेटौंडा अटोमोबाइल्स एसोसिएसनले आयोजना गरेको कार्यक्रममा ३५ जनाले रक्तदान गरेका थिए भने भदौ १५ गते हेटौंडा–११, नवलपुरस्थित नवयुवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आयोजना गरेको कार्यक्रममा २० जनाले रक्तदान गरेका थिए । भदौ १६ गते श्रीकृष्ण प्रणामी युवा परिषद्ले आयोेजना गरेको रक्तदान कार्यक्रममा २८ जनाले र भदौ १९ गते नेपाल रेडक्रस सोसाइटी, हेटौंडा–८, कमानेले आयोजना गरेको कार्यक्रममा २१ जनाले रक्तदान गरेका थिए । भदौको अन्तिम रक्तदान कार्यक्रम २२ गते हेटौंडा–६, चौघडास्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आयोजना गरेको थियो । कार्यक्रममा ११ जनाले रक्तदान गरेका सापकोटाले बताउनुभयो ।
थप ८५ जनाले भने केन्द्रमै आएर रक्तदान गरेका हुन् । रक्तसञ्चार केन्द्र हेटौंडामा सय युनिट रगतको स्टक रहेको छ । सापकोटाका अनुसार केन्द्रले भदौमा ९१ युनिट सेतो रगत बनाएको छ । रक्तसञ्चार केन्द्र हेटौंडाले एक महिनामा ३ सय ८२ युनिट रगत वितरण गरेको जनाएको छ । केन्द्रले सय युनिट रगत सिरहाको लहानमा समेत पठाएको सापकोटाले जानकारी दिनुभयो ।