काँग्रेस नेता डा. शेखर कोइराला ।

हेटौँडाः नेपाली कांग्रेसका वरिष्ठ नेता एवम् प्रतिनिधि सभा सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले गैरजिम्मेवार कुरा गरेको बताउनुभएको छ । आइतबार स्वर्गीय नेता वीपी कोइरालाको ११० औं जन्मजयन्तीको सन्दर्भमा हेटौँडा आउनु भएका नेता डा. कोइरालाले प्रधानमन्त्रीले एक कार्यक्रममा बोल्ने क्रममा २०८४ सालमा माओवादीले जनताले जिताएमा जातीय राज्य बनाउँछु भन्ने अभिव्यक्ति गैरजिम्मेवार भएको बताउनुभएको हो ।

नेपाली कांग्रेस मकवानपुरको संयोजन र वीपी विचार समाज मकवानपुरको आयोजनामा भएको वीपी विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले प्रधानमन्त्री जस्तो व्यक्तिले यस्तो बताउनु राम्रो नभएको धारणा राख्नु भयो । प्रधानमन्त्री दाहालले सुर्खेतमा एक कार्यक्रममा अहिले पनि आफुले लाखौं मानिसलाई सडकमा उतार्न सक्ने अभिव्यक्ति पनि गैरजिम्मेवार भएको बताउनुभयो । धरानमा पछिल्लो समय भएको लडाई हेर्दा धर्मको जस्तो देखिने तर जातीय लडाइको संकेत देखिएको उहाँको भनाइ थियो । नेपाली कांग्रेसमा वीपी राष्ट्रिय प्रजातन्त्र र समाजवादलाई अगाडि बढाउने विचार बनाएर हिँड्ने व्यक्ति भएको उहाँको भनाइ रहेको थियो । वीपी प्रजातन्त्रमा राजासँग नभई प्रजासँग समन्वय गरेर जाने नेता भएको उहाँले बताउनुभयो ।

राष्ट्रियताको सवालमा राजनैतिक दल एक ढिक्का हुन आवश्यक रहेको बताउनुहुँदै उहाँले राज्य कमजोर हुँदै गएको बताउनुभयो । देशमा लोकतन्त्र, सुशासन र भ्रष्टाचारमुक्त समाजको निर्माण हुनुपर्ने बताउनुहुँदै सरकार पारदर्शी हुनुपर्ने धारणा राख्नुभयो । नेपाली काँग्रेसलाई भ्रष्टाचारको विषयमा बोलेन भनेर प्रश्न उठ्ने गरेको बताउनुहुँदै कांग्रेस भ्रष्टाचार, दण्डहिनताको विषयमा गम्भीर भएर लागी परेको डा. कोइरालाको भनाइ रहेको छ । नेपाली कांग्रेसमा पछिल्लो समय व्यक्तिवादी चरित्र हावी भएको र स्वार्थीपन बढेकोले सुध्रन आवश्यक रहेको धारणा राख्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाली काँग्रेस बागमती प्रदेश समितिका सभापति इन्द्रबहादुर बानियाँले वीपीको विचारसँग रहेर पार्टीले काम गर्नुपर्ने धारणा राख्नुभयो । वीपीको विचार गरिबलाई धनी बनाउने समाजवादी विचार भएको स्मरण गराउनुभयो । कांग्रेस राणा फाल्ने, माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने पार्टी भएको बताउनुहुँदै कांग्रेस आफु भित्रै अल्मलिएर बसेकाले एक ढिक्का हुन आवश्यक रहेको उहाँले बताउनुभयो ।