हेटौँडाः प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले देशको समृद्धि र सुशासनको पक्षमा आन्दोलन सुरु गरेको बताउनुभएको छ । आइतबार हेटौँडामा आयोजित समाजवादी मोर्चाको प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्नुहुँदै उहाँले सरकारले अहिले भ्रष्टाचारका विभिन्न फाइलहरु खोल्दा प्रतिगामीहरु आतंकित भएको बताउनुभयो ।
सबैको साथ रहे यो आन्दोलनलाई अझ उत्कर्षमा पुर्याउने उहाँको भनाई छ । भ्रष्टाचारका फाइलहरु खोल्न एकजना प्रधानमन्त्रीले मात्र सम्भव नहुने बताउनुहुँदै उहाँले सबै सचेत नेता, कार्यकर्ता र जनताहरुले पनि आन्दोलन गरेर त्यसलाई रोक्न सकिने बताउनुभयो । सरकारले सुरु गरेको अभियानमा सहयोग गरेको भन्दै उहाँले नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल र नेकपाका महासचिव विप्लवलाई धन्यवादसमेत दिनुभयो । जनयुद्धमार्फत आफुहरु देशमा परिवर्तनको रक्षाका लागि एक ठाउँमा उभिएको उहाँको भनाइ छ ।
प्रतिनिधिसभाबाट झन्डै शतप्रतिशत विश्वासको मत पाउने आफू पहिलो प्रधानमन्त्री भएकोले आफू सफल प्रधानमन्त्री बन्न चाहेको बताउनुभयो । आफू कति समय प्रधानमन्त्री हुन्छु भन्ने नभई र रहुञ्जेल जनता र राष्ट्रको पक्षमा राम्रो काम गर्ने उहाँले बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चा देशको परिवर्तन चाहनेहरुको मोर्चा भएको बताउनुभएको छ । जनताको त्याग र बलिदानबाट ल्याएको परिवर्तनलाई होच्याउन खोज्ने प्रवृत्तिलाई अन्त्य गर्न मोर्चा बनेको उहाँले बताउनुभयो । देश र जनताका लागि त्याग नै नगरेका र अवसरवादीहरुले दलहरुले अहिले देशलाई निरङकुशतातर्फ लैजाने काम भइरहेको उहाँले बताउनुभयो । यसको अन्त्यका लागि कम्युनिष्ट एक हुनुको विकल्प नरहेको उहाँको भनाई छ ।
केही समय कम्युनिस्ट विभाजित हुन पुग्दा अवसरवादी दलहरुले फाइदा लिन खोजेको दाहालले दावी गर्नुभयो । मोर्चाका दलहरुले एकअर्कालाई सहयोग गर्ने र एकअर्काबाट सिक्न सुरु गरेको दाहालले बताउनुभयो । कम्युनिष्ट आन्दोलनलाई एकता गर्न सक्ने र राष्ट्रलाई एकताबद्ध बनाउन सकिने उल्लेख गर्नुहुँदै मोर्चाले एकअर्कासँग पूरकको भूमिका निर्वाह गर्न सके लक्ष्य प्राप्त गर्न सकिने जीकिर गर्नुभयो ।
सन्देश सभालाई सम्बोधन गर्नुहुँदै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मोर्चा समाजवादको यात्रामा हिँड्न सुरु गरेको बताउनुभयो । देशलाई रक्षा गर्नुपर्छ भन्ने मान्यता लिएर मोर्चा बनेको उहाँको भनाई छ । देशमा राजतन्त्रलाई ढालेर गणतन्त्र ल्याउने काम आफुहरुले नै गरेको उहाँले बताउनुभयो । अहिले देशमा सबैतिर निराशा छाएको उहाँले बताउनुभयो । निराशाको प्रमुख कारण आथिक संकट र युवाहरूले रोजगार नपाएको रहेको उहाँले बताउनुहुँदै यसबारे सरकारले ध्यान दिन आग्रह गर्नुभयो ।
यस्तै नेकपाका महासचिव विप्लवले कम्युनिस्ट एकता हुन आवश्यक रहेको बताउनुभयो । नयाँ ढङ्गबाट देशलाई चलाउन आवश्यकता रहेको उहाँको भनाई छ । उहाँले अहिले सत्ता दलाल र पँुजीवादीहरुले चलाउन खोजिरहेको बताउनुभयो । प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्धका फाइलहरु खोल्दा सरकारलाई नै घेरा हाल्ने काम भएको उहाँले दावी गर्नुभएको छ ।