हेटौँडाः नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालालाई काँग्रेस मकवानपुरका सचिव भीमसेन महतले २१ बुँदे ध्यानाकर्षणपत्र बुझाउनुभएको छ । पार्टी कार्यालयमै काँग्रेस बागमती प्रदेश समितिका सभापति ईन्द्रबहादुर बानियाँ र मकवानपुर जिल्ला सभापति बुद्ध लामाको उपस्थितिमा सचिव महतले आइतबार हेटौँडा आउनुभएका नेता कोइरालालाई ध्यानाकर्षणपत्र बुझाउनुभएको हो ।
महतले नेतृत्वको कार्यशैलीमा परिवर्तन हुनुपर्ने, पार्टीमा भ्रष्टाचारले जरो गाडिसकेको प्रमाणित भएको र पार्टीभित्रको भ्रष्टाचारीको शल्यक्रिया गरी स्वच्छ पार्टी बनाउन, व्यवहारमै वीपीका विचारअनुसार पार्टीलाई अगाडि बढाउन नेता कोइरालालाई ध्यानाकर्षण गराउनु भएको छ । भातृ तथा शुभेच्छुक संस्थालाई वैधानिक र क्रियाशील बनाउनुपर्ने, विकास र समृद्धिको नारालाई सरकारमा रहँदा लागु गर्नुपर्ने, पार्टीको सांगठनिक संरचनामा स्पष्ट हुनुपर्नेमा पनि ध्यानाकर्षण गराउनुभएको छ भने पार्टीका कार्यकर्तालाई दासको रुपमा नहेर्न र संरक्षण गर्न, पार्टीमा व्याप्त नातावाद, कृपावादको अन्त्य गरी पार्टीलाई बचाउन पनि ध्यानाकर्षण गराउनु भएको छ ।
