हेटौँडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ स्थित चण्डिका माविले अन्तर्राष्ट्रिय साक्षरता शिक्षा दिवसको पूर्वसन्ध्यामा बिहिबार विद्यार्थीबीच विविध रचनात्मक क्रियाकलाप गराएको छ । १ देखि १२ कक्षासम्मका विद्यार्थीका लागि हाजिरीजवाफ, हिज्जेलगायत विविध खेलकुद तथा रचनात्मक क्रियाकलापको आयोजना गरिएको प्रधानाध्यापक कमल फुयाँलले जानकारी दिनुभएको छ । अन्तर्राष्ट्रिय साक्षरता दिवसको दिन सार्वजनिक बिदा परेकाले अघिल्लो दिन नै विविध क्रियाकलापको आयोजना गरिएको उहाँको भनाइ छ ।
प्रतियोगितात्मक कार्यक्रममा सहभागी भई उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत गरिएको छ । यस्तै इलाका प्रहरी कार्यालय मकवानपुरगढीसँगको समन्वयमा विद्यार्थीकै सक्रिय सहभागितामा सडक सचेतना कार्यक्रम पनि भएको छ । विद्यार्थी, शिक्षक, प्रहरीले सचेतनामूलक प्ले कार्ड बोकेर तीव्र गतिमा गाडी नचलाउन, विद्यालय आसपास हर्न निषेध गर्न आग्रह गरिएको थियो । चण्डिका माविसँगै कान्तिलोकपथ रहेको छ । लोकपथमा साना तथा ठूला सवारी साधनका कारण विद्यार्थीलाई जोखिम रहेकोले सचेतनामूलक कार्य गरिएको प्रधानाध्यापक फुयाँलको भनाइ छ ।
यस्तै इलाका प्रहरी कार्यालय मकवानपुरगढीको अग्रसरतामा विद्यालय आसपास धुम्रपान, मद्यपानजन्य सामग्री बिक्रीवितरण नगर्न सचेत गराइएको छ । कार्यक्रममा वडा अध्यक्ष बखानसिं पाख्रिन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार लामा गोले, प्रहरी सहायक निरीक्षक रामशरण दुलाल, स्रोतशिक्षक दाशरथी उपाध्यायको पनि सहभागिता रहेको थियो । १२ कक्षासम्म पठनपाठन हुने विद्यालयमा ४ सय विद्यार्थी अध्ययनरत छन् ।