हेटौंडाः नेपाल पत्रकार महासंघ मकवानपुरले बुधबार फिचर सङ्गालो पुस्तक विमोचन गरेको छ । महासंघले वार्षिकरुपमा आयोजना गरेको फिचर समाचार लेखन प्रतियोगितामा प्राप्त समाचारलाई फिचर सङ्गालो पुस्तकका रुपमा प्रकाशन गरिएको हो ।
फिचर संगालोमा २०८० सालमा सर्वोकृष्ट र उत्कृष्ट हुन सफल फिचर समाचार र २०७९ सालमा प्रथम, द्वितीय र उत्कृष्ट हुन सफल फिचर समाचारलाई समेटिएको छ । न्यू प्रयास छापाखाना, हेटौंडाले मुद्रण गरेको फिचर सङ्गालोमा २२ वटा फिचर समाचारहरु रहेका छन् । खण्ड क र खण्ड ख गरी दुई भागमा विभाजन गरिएको फिचर संगालो २०० पृष्ठको छ ।
नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको सभाध्यक्षता तथा नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष विपुल पोखरेलको प्रमुख आतिथ्यमा पुस्तक विमोचन गरिएको हो । पुस्तक विमोचनपछि केन्द्रीय अध्यक्ष पोखरेलले पुस्तक प्रकाशनले सकारात्मक सन्देश दिन सहयोग पुग्ने बताउनुभयो । २०७९ सालमा आयोजना गरिएको फिचर समाचार प्रतियोगितामा विभिन्न क्षेत्रमा कोरोना महामारीले पारेको प्रभाव विषय केन्द्रित छ । यस्तै २०८० सालमा अयोजना गरिएको फिचर प्रतियोगिता विभिन्न क्षेत्रमा भएको सकारात्मक कार्य र उपलब्धी विषय केन्द्रित छ ।
केन्द्रीय अध्यक्ष पोखरेलले भन्नुभयो, “आँशु र पीडाका समाचार लेख्ने दिन गएको छ । अब सकारात्मक सन्देश दिने खालका समाचार मात्र सम्प्रेषण गर्नुपर्छ । यसले कसैको जीवनमा हौसला, उत्प्रेरणा र उमंग दिन्छ ।” उहाँले तीन तहको सरकारबाट पत्रकारिताको प्रवद्र्धन, विकास र प्रेरणास्वरुप नीतिगत पारदर्शिताका लागि सहयोगको अपेक्षा गर्नुभयो ।
फिचर संगालो विमोचन कार्यक्रममै मकवानपुरको मनहरी गाउँपालिकाले नेपाल पत्रकार महासंघ मकवानपुर जिल्ला शाखालाई प्रोजेक्टर र प्रेस ज्याकेट हस्तान्तरण गरेको छ । सरकारको हरेक संरचना कमजोर बन्दै गइरहेको अवस्थामा पत्रकारले सरकारको संरचनालाई बलियो बनाउन भूमिका खेल्नुपर्छ भन्ने हेतुले पत्रकार सदस्य शुद्धीकरण अभियान ल्याएको उहाँको भनाई छ । व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकालाई बलियो बनाउनुअघि सञ्चार जगत आफैँ बलियो हुनुपर्ने उहाँले बताउनुभयो ।
आफैंबाट कमिकमजोरी सुधार गरे पत्रकार र पत्रकारितामाथि कसैले औंला उठाउने वातावरण नहुने उहाँले स्पष्ट पार्नुभयो । कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेती, हेटौंडा–४ का वडाध्यक्ष नविन सिग्देल, १ नम्बर वडा अध्यक्ष सविन न्यौपाने, नेपाल पत्रकार महासंघ नेपालका केन्द्रीय सदस्य सुनिल खड्का, नेपाल पत्रकार महासंघ नेपाल बागमती प्रदेशका अध्यक्ष शिव देवकोटाको पनि उपस्थिति रहेको थियो ।