शिविरको उद्घाटन क्रममा खिचिएको तस्वीर ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिका–११ को सिमलटार टोल विकास संस्थामा परिवार नियोजनसम्बन्धी साप्ताहिक शिविर सञ्चालन हुने भएको छ । नेपाल परिवार नियोजन संघ मकवानपुर र टोल विकास संस्थाको आयोजनामा हुन लागेको शिविर आउँदो शनिबारदेखि लगातार ७ वटा शनिबारसम्म सञ्चालन हुने नेपाल परिवार नियोजन संघ मकवानपुरकी शाखा प्रबन्धक ममता श्रेठले जानकारी दिनुभयो ।

नेपाल परिवार नियोजन संघका केन्द्रीय सदस्य निगम श्रेठको प्रमुख आतिथ्यमा मंगलबार शिविरको उद्घाटन गरिएको छ । कार्यक्रममा नेपाल परिवार नियोजन संघ मकवानपुर सभापति ईश्वर पण्डित, कोषाध्यक्ष फुलमान श्रेठलगायतको उपस्थिति थियो । शिविरमा निःशुल्क परिवार नियोजनसम्बन्धी परामर्श तथा डिपो, पिल्स, कण्डम वितरण गरिने शाखा प्रबन्धक श्रेष्ठले जानकारी दिनुभयो । लामो अवधिको ईम्प्लान्ट, आयूडी सेवा, यौन रोग तथा परामर्श सेवा, युवा तथा किशोरकिशोरीको प्रजनन् स्वास्थ्य सेवा र महिलाहरुमा हुने पाठेघरको मुखको सामान्य स्वास्थ्य जाँच सेवा उपलब्ध हुने उहाँको भनाइ छ । संघले पदमपोखरी, बस्तीपुर तथा हेटौंडा–९ मा पनि अन्य बार शिविर गर्दैछ ।