हेटौँडाः सेवानिवृत्त भारतीय सेनाको बन्दोबस्तीको सामान भन्दै भन्सार बिलसमेत देखाएपछि प्रहरीले सुरक्षाजाँच गर्दा भन्सार छलेर ल्याइएको सामान बरामद भएको छ । यो घटनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले ५ दिनपछि मात्रै सार्वजनिक गरेको छ ।
भदौ १३ गते बिहानको २ बजेर ४० मिनेटमा पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा–१५, रातोमाटेस्थित प्रहरी चेकपोष्टमा प्रहरीले विशेष सूचनाको आधारमा भारतको सिलोङबाट सुनसरी भन्सार हुँदै बुटवलतर्फ जाँदै गरेको यु पी ७५ ए टी ८६३२ नम्बरको भारतीय ट्रकबाट १ करोड ३४ लाख रुपैयाँ बराबरको सामग्री बरामद भएको जनाएको छ । भन्सार छलेर ल्याएका ८३ लाख २९ हजार रुपैयाँ बराबरका लत्ताकपडा, ३ लाख ५० हजार रुपैयाँ बराबरको ईलोक्ट्रोनिक्स समान, १६ लाख ३८ हजार रुपैयाँ बराबरको मदिरा र ३१ लाख २७ हजार रुपैयाँ बराबरको अन्य सामान बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले ट्रकचालक भारतको उत्तर प्रदेश टावा भद्रपुर थानाका ५५ वर्षीय गोरेलाल, ट्रकमा सवार तनहु जिल्लाको व्यास नगरपालिका–४ का ४९ वर्षीय निमकाजी श्रेष्ठ र पर्वत जिल्लाको विहादी गाउँपालिका–४ का ३९ वर्षीय खेमबहादुर गुरुङलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि बारा जिल्लास्थित राजश्व अनुसन्धान कार्यालय पठाइएको जनाएको छ ।