हेटौंडाः हेटौंडा उपमाहानगरपालिका–११, डाङ्डुङ्गेमा रहेको आनन्दभैरब आधारभूत विद्यालयले अभिभावकसँग छलफल गरेको छ । मंगलबार विद्यालय व्यवस्थापन समितिले शिक्षकसहित अभिभावकसँग छलफल गरेको हो ।
विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धिका लागि अभिभावकको सल्लाह र शिक्षकहरुको धारणा बुझ्न छलफल गरिएको विद्यालयका प्रधानाध्यापक कृष्ण खनालले जानकारी दिनुभयो । प्रथम त्रैमासिक परीक्षाको नतिजा चित्तबुझ्दो नभएका कारण कक्षा ६, ७ र ८ मा अध्ययनरत विद्यार्थीका अभिभावकसँग छलफल गरिएको उहाँले बताउनुभयो । ती कक्षामा ६३ जना विद्यार्थी रहेका छन् ।
छलफलमा विद्यालय व्यवस्थापन समितिका सदस्यहरु रामबहादुर थोकर र सरिता वाईवाको उपस्थिति थियो । छलफलमा ३० जना शिक्षक तथा अभिभावकको उपस्थिति थियो । छलफलका क्रममा विद्यालयमा कोचिङ कक्षा सञ्चालन गर्न अभिभावकले सुझाव दिएको प्रधानाध्यापक खनालको भनाइ छ । भदौ २६ गतेबाट अंग्रेजी, गणित र विज्ञान विषयको कोचिङ सुरु गर्ने उहाँले जानकारी दिनुभयो ।