हेटौँडाः तामाङ पत्रकार संघ मकवानपुरले शुक्रबार तामाङ प्रसारण दिवस मनाएको छ । शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रमको आयोजना गर्दै बागमती प्रदेशको राजधानी हेटौंडामा २९ औं तामाङ प्रसारण दिवस मनाएको हो ।
दिवसको अवसरमा रेडियोकर्मी दुदुमाया सिन्तानलाई तामाङ पत्रकारिता-२०८० बाट ५ हजार रुपैयाँ राशिसहित सम्मान गरिएको छ । सिन्तान हेटौँडास्थित रेडियो मकवानपुरमा कार्यरत हुनुहुन्छ । तामाङ पत्रकार संघ मकवानपुरका अध्यक्ष जयराम मोक्तानको सभाध्यक्ष तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलानको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै जिसस प्रमुख घलानले कला, संस्कृतिको संरक्षण सम्वद्र्धनका लागि तामाङ प्रसारण दिवसले सहयोग पुर्याएको बताउनुभयो । यस्तै तामाङ पत्रकारहको हकहितका लागि सहयोग गर्ने प्रतिवद्धता पनि उहाँले व्यक्त गर्नुभएको छ । राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष वनस्तम थिङ, हेटौंडा–१५ का वडाध्यक्ष सुनिल मोक्तान, हेटौँडा–१३ का वडाअध्यक्ष पेम्बा लामा, आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष जङ्गबहादुर गुरुङ, नेपाल तामाङ घेदुङ संघीय सदस्य मेम्बर लो, सुवास सिन्तान, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, नेपाल तामाङ घेदुङ बागमती प्रदेशका अध्यक्ष लिलाबहादुर घलान, नेपाल तामाङ घेदुङ मकवानपुरका अध्यक्ष कालु घलान, सचिव किरणमान बल, तामाङ कलाकार संघका अध्यक्ष धिरेन लामा, आदिवासी जनजाति पत्रकार महासंघ मकवानपुरका अध्यक्ष अशोकसुजन श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।











