रुकुम जिल्लाको चौरजहारीमा भएको घटनाको विरोधमा काठमाडौंमा प्रदर्शन गर्दै अधिकारकर्मीहरु ।

हेटौंडाः रुकुम जिल्लाको चौरजहारीमा भएको घटनाका दोषीलाई कारबाहीको माग गर्दै मकवानपुरका दलित अधिकारकर्मीले जिल्ला प्रशासन कार्यालय मकवानपुरमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । अन्तरजातीय बिवाह गर्न लागेको भन्दै दलित युवाको समूहलाई नै आक्रमण गरी हत्या गरेको भन्दै दोषीहरुलाई कडा भन्दा कडा कारवाहीको माग गर्दै बिहिबार ज्ञापनपत्र बुझाइएको हो ।

रुकुमको चौरजहारीका नवराज विश्वकर्मा लगायतका साथीहरुलाई यहि जेठ १० गतेका दिन जाजरकोटको भेरी नगरपालिका ४ रानागाउँका नवराज विश्वकर्मा लगायतका युवाको एक समूहको हत्या भएको थियो । हत्यामा चौरजहारी–८, का वडा अध्यक्ष डम्बर बहादुर मल्लको पनि संलग्नता भएको दावी पीडित पक्षको छ । प्रहरीले वडा अध्यक्ष मल्लसहितका एक समूहलाई नियन्त्रणमा समेत लिएको छ । जातीय एवम् वर्गीय विभेद अन्त्यका लागि थुप्रै आन्दोलनहरुको दबावमा जातीय छुवाछुतको अन्त्य गर्न राज्य पक्षबाट कागजी घोषणाहरु भए तापनि आजसम्म पनि हाम्रो समाजमा जातीय छुवाछुतको कहाली लाग्दो अमानवीय कुप्रथाको अन्त्य हुन नसकेको अधिकारकर्मीहरुले बताएका छन् ।

मकवानपुरका दलित अधिकारकर्मीहरुले सामुहिक हत्याकाण्डको सत्यतथ्य छानविन गर्न समावेशी र अधिकारसम्पन्न संसदीय समिति गठन गर्दै सामुहिक हत्या गरिएका युवाहरुलाई साँस्कृतिक सहिद घोषणा गरी पीडित परिवारलाई उचित क्षतिपूर्ति दिईनु पर्ने माग राखेका छन् ।

देशव्यापी रुपमा भएका जातीय विभेदका घटनाको दोषीहरुलाई हदैसम्मको कारवाही गर्नुपर्ने समेत ज्ञापनपत्र भनिएको छ । दलित युवायुवतीसँग अन्तरजातीय बिवाहका कारण हुने हत्या, कुटपीट, गाउँ निकाला जस्ता पाशविक एवम् अमानवीय घटनाहरु तुरुन्त बन्द गर्नुपर्ने, संसद लगायत स्थानीय तहमा पदको दुरुपयोग गरी जातीय विभेदका अपराधीहरुको पक्षपोषण गर्ने एवम् बचाउ गर्न उद्दतहरुलाई कडा कारवाही गर्नुपर्ने लगायतको माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका हुन् ।