जातीय बेमेलको नाममा हालै रुकुममा भएको जघन्य अपराध नेपाली समाजको कालो धव्बा हो । ठकुरी र विक थरका युवायुवती बीचको प्रेम हत्यामा रुपान्तरण भएको छ । कथित उपल्लो जातकी छोरीलाई विकसँग विबाह गर्न नदिन हत्या नै गरिएको छ । यो घटना नेपाली समाजको मात्र नभई मानव सभ्याता माथि कै चुनौती हो । जातभात र छुवाछुतका नाममा हत्या गर्ने गराउने जस्तो जघन्य अपराध कुनै क्षेत्र वा वर्ग विशेषको हुन सक्दैन । यस्ता आपराधिक कार्य समग्र नेपाली सभ्यता माथिको कलंकका रुपमा रहने छ । घटनालाई परम्परागत रुपमा रहेको जातिगत संकिर्ण मानसिकताको उपज हो । यो घटनाले आज पनि नेपाली समाजमा रहेको चेतनालाई प्रतिबिम्बित गर्दछ ।
जे भयो त्यो कुनै दुर्घटना थिएन । जानीबुझी घटाईएको अपराध हो । भाग्ने क्रममा खोलामा भएको घटनाका रुपमा अपराधीलाई उन्मुक्ती हुन सक्दैन । कुनै जात विशेषको भन्दा पनि मानवता विरुद्धको अपराध कर्म हो । त्यसैले नियतबस घटाईएको अपराधलाई सोही अनुसार कानूनी कारवाही हुनु पर्दछ । तर्कका लागि लकडाउनको समयमा राती हुल बाँधेर अर्काको घरमा जानु असल मनसाय नहुन सक्छ । तर उनीहरुले ज्यान नै त्याग गर्नुपर्ने त्यस्तो कुन अपराध गरेका थिए भन्ने प्रश्न उठेको छ । हुल बाँधेर जानु र उनीहरुले त्यहाँ गरेका हर्कतको छानविन हुनु पर्दछ । तर अपराध गर्नेहरुलाई फौजदारी कानून अनुसार कारवाही हुनै पर्दछ ।
मानिसको मृत्यु कसरी भयो भन्दा पनि कुन उद्देश्यबाट घटाईएको हो भन्ने पक्षबाट हेरिनु पर्दछ । २१ औं शताव्दीमा पनि नेपाली समाज जातीय छुवाछुतको दलदलबाट निस्कन सकेको छैन । महिला र पुरुष भन्दा अन्य जात हुनै सक्दैन । नेपालको संविधान तथा ऐन कानुनले पनि गरेको व्यवस्था यही हो । कसैले जातिगत रुपमा फरक व्यवहार गरे पनि सजायको भागी हुनु पर्दछ भने यहाँ त मानिस मारिएका छन् । यस घटनाले समाजमा अझै रुढीवादी मानसिकता र परम्परा अन्त्य हुन धेरै समय लाग्ने देखिन्छ । बिवाह रोक्नका लागि युवकको हत्या नै भएको घटना पुस्तौंसम्म कलंकित अतित्का रुपमा रहने छ । घटना जहाँसुकैको भएपनि नेपाली समाजको प्रतिबिम्ब हो । तसर्थ फेरी पनि यस्ता दुष्कर्म गर्न तम्सने आँट कसैको नहुने वातावरण निर्माण हुनु पर्दछ ।
माया–प्रेम कुनै अपराध होइन । आधुनिक समाजमा जातीय आधारमा नभई व्यवहार र आचरणले मात्र परिचय दिने गर्दछ । बिवाहका लागि जात, वर्ग, धर्म, भूगोल वा क्षेत्र बाधा हुन सक्दैन । तर रुकुममा ठकुरी र विकबीचको प्रेमले छ जनाको ज्यान लियो । आफुले प्रेम गरेकालाई लिन जाँदा ज्यान गुमाउनु पर्ने समाजको चरित्र माथि किन प्रश्न नउठाउने ? के अन्तरजातीय सम्बन्ध यो नै पहिलो हो र ? अनि सरकारले पनि अन्तरजातीय बिवाहका लागि गरेको प्रोत्साहनको नतीजा यही हो ? जातीय विभेद विरुद्धका अभियान र उनीहरु मार्फत हुने गरेका खर्चको औचित्य के भयो ? जातीय विभेद विरुद्ध क्रान्तिको विगुल फुक्दै नेतृत्वमा पुगेकाहरुले समाजमा दिएको योगदान माथि प्रश्न किन नउठाउने ? राजनीतिक वा सामाजिक कार्यकर्ताहरुले आफ्नो अभियानको वास्तविकता यो घटनाबाट हेर्न सक्नु पर्दछ । जातीय विभेदको पराकाष्ठाका रुपमा भएको घटनामा जो सुकै संलग्न भए पनि निर्मम सजाय दिएर उप्रान्त यस्ता घटना गर्नबाट जो कोही पछि हट्ने वातावरण बनाउनु अनिवार्य छ ।