हेटौंडाः हेटौंडा औद्योगिक क्षेत्रमा सञ्चालित चुरोट उद्योग गोर्खा लाहारी प्राइभेट लिमिटेडले श्रमिकको बैशाख महिनाको आधा तलब कट्टा गरेको छ । कोरोना महामारीले सताइरहेको बेला तलब कट्टा गरेकोमा श्रमिकले आपत्ति जनाएका छन् ।

उद्योग सञ्चालन हुँदा विभिन्न बाहिरी जिल्लाबाट काममा आउन नसकेको श्रमिकहरुको आधा तलब कट्टा गरेको बताइएको छ । चुरोट उत्पादन गर्ने सो उद्योगले सरकारले चैत ११ गतेदेखि देशमा लकडाउन गरेयता बैशाख १७ गतेबाट बागमती प्रदेश सरकारबाट अनुमती लिएर पूर्णरुपमा उद्योग सञ्चालन गर्दै आएको श्रमिकहरुले एक विज्ञप्ती मार्फत जानकारी दिएका छन् ।

उद्योगले बागमती प्रदेशस्तरीय राहत कोषमा १० लाख र मकवानपुर जिल्लास्तरीय राहत कोषमा १ लाख रुपैयाँ राहत प्रदान गरेकोमा पनि सामाजिक क्षेत्रमा योगदान नगरेको श्रमिकको गुनासो छ । सो राहत दिएर उद्योग सञ्चालन गर्न सरकारलाई फकाएको मजदुरको आरोप छ । श्रमिकहरुले विविध कारणले काममा आउन नसकेको जानकारी गराउँदा कारवाहीको धम्की दिने र वर्षौदेखि पसिना बगाएको आफ्नो श्रमिकको तलब कट्टा गर्नु अनैतिक र सामाजिक न्याय हनन् भएको श्रमिक वर्गको भनाइ छ ।

यता उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोखरेलले सरकारको नीति अनुसार उद्योगले समस्या सुल्झाउनु पर्ने बताउनुभएको छ । उहाँले काममा आएका श्रमिकहरुलाई महिनाको पुरै तलब र जो श्रमिक घरमा बसेको छ उसलाई आधा तलब दिएको आफुलाई जानकारी आएको बताउनुभयो । कतिपय श्रमिकले जिम्मेवारी पुरा नगरी बीचैमा काम छोडेर हिँडेको लगायतका समस्याहरु देखिएकोले वर्तमान अवस्था, लकडाउनको मान्यता र सरकारको नीति अनुसार उद्योगले नै समस्या समाधान गर्नुपर्ने उहाँको भनाइ छ ।