हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिकामा यहि जेठ २० गतेसम्म खोप कार्यक्रम सञ्चालन हुने भएको छ । गत चैत्र महिनामा १ दिन सञ्चालन भएर कोरोनाका कारण रोकिएको खोप यहि जेठ ११ गतेबाट सुरु भएको थियो । २ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि लगाइने नियमित खोप आज भीमफेदी गाउँपालिकामा ६ वटा वडाहरुमा सञ्चालन भएको गाउँपालिकाका जनस्वास्थ्य प्रमुख रामनाम थिङले बताउनुभयो ।
आज बिहीबार भीमफेदी गाउँपालिकाको वडा नम्बर २, ४, ५, ६, ७ र ९ मा खोप कार्यक्रम सञ्चालन भएको छ । नियमित खोप कार्यक्रममा बीसीजी, डीपीटी/हेपाटाइटीस बी, पीसीभी, एफआइपीभी, दादुरा/रुबेला, पोलियो, जापानिज इन्सेफलाइटिस र टिडी गरी ८ प्रकारका खोप बालबालिकाको उमेर अनुसार लगाइन्छ । हालसम्म भीमफेदी गाउँपालिकाका वडा नम्बर ३, ४ र ८ मा खोप कार्यक्रम सकिसकेको छ । अब वडा नम्बर २, ५, ७, ९ मा जेठ १६ गतेसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ भने ६ नम्बर वडामा २० गतेसम्म सञ्चालन हुने भएको जनस्वास्थ्य प्रमुख थिङले जानकारी दिनुभयो ।