हेटौंडा–८, कमानेस्थित एक कुखुरापालक किसानले विक्रीका लागि पठाउन तयार पारेको अण्डा ।

हेटौंडाः लेयर्स कुखुराको अण्डाको मूल्यमा फेरि सप्लायर्सले चलखेल गरेका छन् । सप्लायर्सको चलखेललाई कुखुरा व्यवसायी संघले पनि साथ दिएको छ । तीनदिनदेखि मकवानपुरमा अण्डाको मूल्य सप्लायर्सले घटाएका छन् ।

अण्डा उत्पादक संघले ठूलो अण्डाको मूल्य प्रतिक्रेट २८० रुपैयाँ र मझौला अण्डाको मूल्य प्रतिक्रेट २५५ रुपैयाँ निर्धारण गरेको छ । तर, मकवानपुर कुखुरा व्यवसायी संघले भने अनौपचारिक रुपमा किसानलाई ठूलो अण्डा प्रतिक्रेट २३५ रुपैयाँ र मझौला अण्डा २०५ रुपैयाँ निर्धारण गरेको छ । अण्डा उत्पादक संघले नै मूल्य घटाएको भन्दै अनौपचारिक रुपमा मकवानपुर कुुखुरा व्यवसायी संघले यसपटक मूल्य घटाएको हो ।

सप्लायर्सको चलखेलमा किसानकै प्रतिनिधित्व भएको भनिएको कुखुरा व्यवसायी संघले साथ दिएपछि किसान मर्कामा परेका छन् । हेटौंडा–५ स्थित पुरी फार्मका सञ्चालक सुवास पुरीले तीनदिन देनि सप्लायर्सले ठूलो अण्डा प्रतिक्रेट २३५ रुपैयाँ र मझौला अण्डा प्रतिक्रेट २०५ रुपैयाँमा उठाइरहेको जानकारी दिनुभयो । यसअघि अण्डाको मूल्यबारे मोवाइलमा म्यासेज गर्ने गरेको कुखुरा व्यवसायी संघले यसपटक भने म्यासेज पनि नगरेको पुरीले बताउनुभयो । सप्लायर्सले मूल्य घटेको भने पनि अण्डाको खपत भने नघटेको किसानको भनाइ छ ।

मकवानपुर कुखुरा व्यवसायी संघका अध्यक्ष राजु अधिकारीले अण्डा उत्पादक संघले नै अण्डाको मूल्य घटाएका कारण मूल्य घटेको दावी गर्नुभयो । ‘अण्डा उत्पादक संघले नै खै किन हो मूल्य घटाएछ । संघले नै घटाएपछि हामीले पनि घटाएर मूल्य कायम गरेका छौं,’ समृद्ध समाजसँग कुरा गर्दै अधिकारीले भन्नुभयो ।

यता अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीले भने ठूलो अण्डाको मूल्य प्रतिक्रेट २८० र मझौला अण्डाको मूल्य प्रतिक्रेट २५५ रुपैयाँ तोकिएको जानकारी दिनुभयो । ‘कहीँ कतै ५, १० रुपैयाँ तलमाथि हुन सक्छ तर, संघले निर्धारण गरेको मूल्य ठूलो अण्डा प्रतिक्रेट २८० र मझौला अण्डा २५५ रुपैयाँ हो ।’ अण्डाको मुख्य बजार काठमाडौंमा खपत घटे पनि अहिले काठमाडौं उपत्यका बाहिरका जिल्लामा खपत बढेको र उत्पादन घटेकोले मूल्य घट्नुपर्ने कारण नभएको अध्यक्ष केसीले स्पष्ट पार्नुभयो ।

यसअघि गत बैशाखमा पनि सप्लायर्सहरुले चलखेल गरेर बजारमूल्यमा भारी गिरावट भएको थियो । किसानले कम मूल्य पाएको भन्दै व्यवसायीको छाता संगठन मकवानपुर उद्योग वाणिज्य संघ र स्थानीय प्रशासनलाई समेत ध्यानाकर्षण गराएलगत्तै मूल्यमा उल्लेख्य सुधार भएको थियो ।