प्रतियोगिता उद्घाटन कार्यक्रममा सहभागीहरु ।

हेटौँडाः नेपाल खेलकुद महासंघ मकवानपुरको आयोजनामा जिल्लास्तरीय टेबलटेनिस प्रतियोगिता सुरु भएको छ । हेटौँडा–४, पारिजातपथस्थित बहुउद्देश्यीय कभर्ड हलमा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गीले प्रतियोगिताको उद्घाटन गर्नुभयो ।

प्रतियोगितामा मकवानपुरका २५ जना खेलाडीको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम र द्वितीय हुने सहभागीले क्रमशः ५ हजार रुपैयाँ र ३ हजार रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीले राष्ट्रिय प्रतियोगितामा सहभागिताको अवसर समेत प्राप्त गर्ने नेपाल खेलकुद महासंघ मकवानपुरका सचिव संगीत श्रेष्ठले जानकारी दिनुभएको छ । मकवानपुरमा लामो समयपछि टेबलटेनिस प्रतियोगिता भएको हो ।

महासंघ मकवानपुरका अध्यक्ष सविन मोक्तानको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा हेटौँडा १० नम्बर वडा फुर्वा दोर्जे लामा, नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाही, नेपाल खेलकुद महासंघका स्थायी कमिटी सदस्य बुद्धिराम डिम्डुङ, केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष सानु लामा र नेपाल खेलकुद महासंघ बागमती प्रदेश सचिव जनरल श्रेष्ठको पनि आतिथ्य रहेको थियो ।