यतिबेला मध्य वर्षाको समय छ । केही दिनयता भारी वर्षासँगै प्राकृतिक विपत्ति समेत झेल्नुपरेको अवस्था छ । भारी वर्षाका कारण बाढी, पहिरो जस्ता जोखिम बढेको छ । प्राकृतिक विपत्तिले जनधनको क्षति पु¥याएको छ । सरकार र सरोकारवालाले प्राकृतिक विपत्ति अघि जोखिम न्यूनीकरण र सचेतनाको काममा ध्यान नदिँदा जनधनको क्षति व्यहोर्न बाध्य हुनुपरेको पृष्ठभूमिमा मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मासँग प्राकृतिक विपत्तिको जोखिम र त्यसबाट बच्न अपनाइने सतर्कता र पीडितको उद्दार र राहतको विषयमा समृद्ध समाज दैनिकका संवाददाता रविन्द्र वाईबाले गर्नुभएको कुराकानीः
समाजः सोमबारदेखि आएको भारी वर्षाका कारण मकवानपुर जिल्ला पनि प्रभावित भएको छ । वर्षाका कारण सडक अवरोधको अवस्था कस्तो छ, यसलाई तपाईले कसरी हेर्नुभएको छ ?
शर्माः जिल्ला भित्र अविरल वर्षाका कारण सडक सञ्जालहरु अवरोध भएसँगै नागरिकको धनजनको क्षति भएको छ । यो पक्कै पनि दुःखको विषय हो । तर यसलाई हामीले कसरी न्यूनीकरण गर्न सक्छौं भन्ने विचार गर्नुपर्छ । घटना स्वभाविक जस्तो लागे पनि यस्तो घटना फेरी आउन सक्ने भएकाले विपत्सँग जुध्नका लागि स्थानीय सरकार थप जिम्मेवार भएर अगाडि बढ्नुपर्छ ।
समाजः थप बाढी, पहिरोबाट निम्तिन सक्ने विपद्को सामनाका लागि पूर्व तयारी के छ ?
शर्माः विपत् प्रतिकार्यका लागि एक व्यक्ति वा संस्था लागेर मात्रै सम्भव छैन । वर्षात्को समयमा विपत्को हामी सबैले आँकलन गरेकै हो । हामीले वर्षात्को विपद् र हिउँदको बेलाको विपद्को बारेमा वर्षैभरि तयारी ग¥यौं, जसले गर्दा विपत्सँग जुध्न सहज भइरहेको छ । विपत्जन्य घटनाबाट नागरिकको सुरक्षाका लागि जिल्लाको सुरक्षाकर्मी, प्रहरी, नेपाली सेनासँग समन्वय, सहकार्य गर्न हामी तयार छौँ । त्यससँगै स्थानीय तहसँग यी–यी सामग्रीको आवश्यक छ । ती सामग्रीको व्यवस्थापन गर्न हामीले जिल्ला विपत् व्यवस्थापन कार्यालयको निर्णयबाट अनुरोध गरेका छौं । स्थानीय तहहरुले पनि आवश्यक सामग्रीको व्यवस्था गरिसकेका छन् ।
समाजः विपत्को घटना घटिहालेमा उद्दारका लागि जनशक्ति र स्रोत साधनको अवस्था के छ ?
शर्माः हामीसँग जनशक्ति पुग्दो नै छ । बागमती गाउँपालिकामा मंगलबार सबहान ४ बजे भएको घटनामा दुई घण्टापाछि हामीलाई जानकारी आयो । घटनास्थलबाट नागरिकले समयमै सचेत भएर तत्कालै सूचना दिन सकेमा भने तत्काल उद्दार गर्न सक्छौँ । त्यस्तो विपद्को संकेत पाउनासाथै सर्वसाधारण पनि सतर्क रहनुपर्छ । स्थानीय बासिन्दा र जनप्रतिनिधिहरुले यथाशिघ्र सम्बन्धित निकायमा सूचना उपलब्घ गराइहाल्नु पर्छ ।
समाजः दुर्घटना भइहालेमा मानिसहरुको उद्दार र उपचार कसरी हुन्छ ?
शर्माः दुर्घटना हुनसक्छ तर यसको न्युनीकरण तिर लाग्नुपर्छ । दुर्घटना भयो भनेर सधै राहत् बाँडेर मात्र हुँदैन । यसका लागि सडक विस्तार, मानवीय क्रियाकलापहरु र विकासका कामहरु वातावरणमैत्री गर्नुपर्छ । सामान्य विपद्जन्य घटनामा घरको क्षति भएमा जिल्ला विपद् व्यवस्थापन कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट प्रभावित घरको अल्पकालीन राहत्का लागि १५ हजारदेखि २० हजार रुपियाँसम्मको राहत्को व्यवस्था रहेको छ । धनजनको क्षति छ भनेर स्थानीय तहले आँकलन गरेको खण्डमा उसलाई स्थानान्तरण गर्नेसम्मको व्यवस्था हामीसँग छ ।