हेटौंडाः मकवानपुरको विकट कैलाश गाउँपालिकाको भवन आज बिहान जलेर नष्ट भएको छ । कैलाश गाउँपालिका–३, कालिकाटारस्थित गाउँपालिकाको प्रशासनिक भवन जलेर पूर्ण रुपमा नष्ट भएको गाउँपालिकाकी उपाध्यक्ष सुकुमाया थिङले जानकारी दिनुभयो । गाउँपालिकाको सौर्य उर्जा प्रणालीमा सर्ट भई आगजनी भएको उपाध्यक्ष थिङले बताउनुभयो ।
आज बिहान गाउँपालिकाको न्यायिक समितिको बैठक चलिरहेका बेला सौर्य उर्जा प्रणालीमा सर्ट भई आजगनी भएको थियो । आजगनी भएसँगै भवनबाट सबै बाहिर निस्किएका थिए । गाउँपालिकाको प्रशासनिक भवन १८ कोठाको प्रिफ्यावको निर्माण गरिएको थियो । आगलागीबाट गाउँपालिकाका सबै कागजपत्र, जिन्सी सामान समेत नष्ट भएको उपाध्यक्ष थिङले बताउनुभयो ।
गाउँपालिकाका अध्यक्ष टंक मोक्तान भने युरिया मलको व्यवस्थापनका लागि जिल्ला सदरमुकाम हेटौंडामा रहेको बताउनुभयो । अस्थायी संरचनाको रुप्मा प्रिफ्यावले निर्माण गरिएको प्रशासनिक भवन जलेको खबर आएको उहाँले बताउनुभयो ।