डीबी बर्तौला,

साहित्य सङ्गम मकवानपुर जिल्लाकै अग्रणी साहित्यिक संस्था हो । २०४४ सालमा स्थापना भएको सङ्गमको १६ औं अधिवेशन आगामी भदौ महिनामा हुँदैछ । यतिबेला सङ्गमले सदस्यता नवीकरण र नयाँ सदस्यता आव्हान गरेको छ । साहित्यमार्फत समाजलाई निरन्तर खबरदारी र सचेतनाको कार्य गर्दै आएको सङ्गमको वर्तमान कार्यसमितिको समीक्षा र आगामी दिनमा संगमले गर्नुपर्ने कामका विषयमा सङ्गमका सचिव डीबी बर्तौलासँग समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीः

समाजः तपाईहरुको समितिको कार्यकालमा साहित्य सङ्गम मकवानपुरले के–के काम ग¥यो ?
बर्तौलाः
साहित्य सङ्गम मकवानपुरको यो १५औँ अधिवेशनमा आइसकेपछि हामीले नियमित सन्ध्यालाई अगाडि बढाउँदै आएका छौं । विभिन्न साहित्यिक कृति विमोचन गर्नेदेखि लिएर विमर्श गर्ने काम गर्दै आएका छौँ । साहित्य सङ्गम मकवानपुरको इतिहासमै पहिलो पटक हामीले साहित्य महोत्सवको आयोजना ग¥यौं । त्यो सँगसँगै हामीले नयाँ पुस्तालाई पनि समेटेर लैजाने गरेका छौँ ।

समाजः साहित्य सङ्गम मकवानपुरको अग्रणी संस्था हो ? यो संस्थाको स्थापनाकालदेखि महत्वपूर्ण काम देखाउनु प¥यो भने के–के उल्लेख गर्नुहुन्छ ?
बर्तौलाः
साहित्य संगम मकवानपुर २०४४ सालमा स्थापना भएको हो । २०५१ सालमा विधिवत रुपमा दर्ता भएको हो । त्यसपछि नियमित रुपमा हरेक महिनाको एउटा शनिबार सन्ध्या विशेष कार्यक्रम हुँदै आएको छ । यो एउटा लेख्नेहरुका लागि महत्वपूर्ण कार्यक्रम हो । लेख्नेहरुका लागि मञ्च उपलब्ध गर्ने विकास भएको छ । त्यो कार्य चाहिँ साहित्य सङ्गम मकवानपुरले दिलाएको हो । नयाँ र पुराना पुस्ताका लागि यो एउटा पाठशालाको रुपमा रहेको छ । यस संस्थाको आफ्नै भवन भएकोले पनि नियमित कार्यक्रम गर्न सकेका छौँ । समाजमा छरिएर रहेका व्यक्तिको साहित्यिक कृतिलाई पनि हामीले अगाडि ल्याएर प्रस्तुत गर्ने व्यवस्था गरेको छ । यसरी नै साहित्यलाई निरन्तरता दिनुपर्छ भनेर हामीले मञ्चको व्यवस्थापन गर्दै आएका छौँ ।

समाजः समुदायले साहित्यिक संस्थाहरुलाई कसरी स्वीकार गरेको देख्नुहुन्छ ?
बर्तौलाः
साहित्यिक क्षेत्रमा नलागेको, नपढेको मानिसहरुका लागि त्यति महत्वपूर्ण होइन कि जस्तो व्यवहारले हेरेको देख्छु भने कम्तिमा लेखेका कुरालाई मञ्चमा प्रस्तुत गर्दा नयाँ पुस्तालाई चेतनाको विकास भएको छ । त्यसैले लेखकहरुले नयाँ पुस्ता, किशोरास्थामा कुलतमा फस्नबाट रोक्ने, अहिलेको प्रवृत्ति अनावश्यक क्षेत्रमा लागेको छ । उनीहरुलाई पनि अब सिर्जनाको बाटोतर्फ ल्याउनुपर्छ । पुराना पुस्ताले समाजले विकृत्ति, बिसङ्गतिहरुले खुलेआम प्रस्तुती दिन पाउँदा उनीहरुलाई आत्मबल मिलेको जस्तो लाग्छ भने सामाजिक रुपान्तरणमा पनि साहित्य सङ्गम मकवापुरले महत्वपूर्ण भूमिका खेलेको छ ।

समाजः नयाँ आउने पुस्ताका लागि सङ्गममा आवद्ध हुनुपर्छ ?
बर्ताैलाः
साहित्य सङ्गम मकवानपुरले लामो समयदेखि नियमित रुपमा कार्यक्रमहरु गर्दै आएको छ । तुलनात्मक रुपमा यो संस्थामा पुराना पुस्ता र नयाँ पुस्ताको एउटा परिवारजस्तो आवद्ध हुन पाएका छन् ।

समाजः नयाँ पुस्ताले पनि यस संस्थामा आबद्ध भएर हासिल गर्ने लाभ के छ ?
बर्तौलाः
नयाँ पुस्ताले यो नै लाभ पाउँछ भन्ने छैन । तर उहाँहरुलाई हामीले मञ्च प्रदान गर्ने गर्छाैँ ।

समाजः तपाईहरुको कार्यकाल सकिँदै छ । अब नयाँ बन्ने समितिले के–के कुरा ध्यान दिनु पर्छ जस्तो लाग्छ ?
बर्ताैलाः
साहित्य सङ्गम मकवानपुरको समाजसँग राम्रो सम्बन्ध छ । साहित्य सङ्गम मकवानपुरलाई आलोचना गर्नेहरु पनि धेरै नै छन् । हामीले थालनी गरेको र गर्न बाँकी थुप्रै विषयहरु छन् । कसरी काम गर्छ भन्ने नयाँ समितिको हो । अबको समितिलाई गाह्रो नहोस् भनेर हामीले अक्षय कोषको बनाएका छौं । अक्षयकोष निर्माण गर्ने कुरा र हामीले सञ्चालन गर्दै आएको पुस्तकालय अझै व्यवस्थित बनाउने काम नै प्रमुख हो जस्तो लाग्छ ।