एसईईको नतीजा सार्वजनिक भएको एक महिनाको बीचमा कक्षा ११ को पठनपाठन सुरु भइसकेको छ । एसईईको नतीजामा आम अभिभावकको जति चासो रहन्छ त्यसको तुलना कक्षा ११ मा भर्ना हुने आफ्ना बाबुनानीलाई उचित वातावरण निर्माणमा आम अभिभावकको ध्यान पुग्न सकिरहेको हुँदैन । यस्तो सन्दर्भमा उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाहरुले अधिकतम् विद्यार्थी भर्ना गरी पठनपाठन सुरु गरिसकेको सन्दर्भमा हेटौँडा–४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्टका सहायक प्रिन्सीपल रामपण्डित खनालसँग समृद्ध समाज दैनिकका लागि सुप्रभा शर्माले गर्नुभएको कुराकानीः
समाजः हेटौँडा स्कूल अफ म्यानेजमेन्टमा यो वर्ष कक्षा ११ को भर्नाको अवस्था कस्तो छ ?
खनालः यसपालि भर्ना प्रक्रिया सोचेजस्तै किसिमले अगाडि बढिरहेको छ । गत वर्ष भदौ १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु भएको भए पनि यस वर्ष साउन १५ गतेबाट कक्षा सञ्चालन सुरु गरिएको छ । कोभिडपछाडि विद्यार्थीका अभिभावकमा भर्नाको गति कम भएको छ । भर्ना विस्तारै भइरहेकाले कोटा पूरा हुन लागेको छ ।
समाजः क्याम्पसमा कति विद्यार्थी भर्ना गर्ने क्षमता छ ?
खनालः क्याम्पसमा १६ वटा सेक्सन म्यानेजमेन्टतर्फ छ भने ९ ओटा विज्ञान सकायतर्फ रहेको छ ।
समाजः अहिले कति विद्यार्थी उपस्थित भएका छन् ?
खनालः अहिलेसम्म ११ सय विद्यार्थी भर्ना भएकोमा ९ सय ८० जना विद्यार्थी उपस्थित देखेको छु । तराईका केही विद्यार्थी आउन बाँकी छ । अनि केही विद्यार्थी ड्रेस (पोशाक) को कारणले पनि आउन सकेका छैनन् ।
समाजः विद्यार्थीहरुको पहिलो दिनमा तपाईंहरुले क्याम्पसको तर्फबाट कसरी स्वागत गर्नुभयो ?
खनालः स्वागत कार्यक्रम गर्यौ। त्यसमा क्याम्पसको नियमको कुरा भयो । क्याम्पस चिफबाट विद्यार्थीलाई प्रेरणा दिइयो । क्याम्पसको पहिलो दिन भएकाले नियमको कुरा सम्झाएर विदाई गर्यौ ।
समाजः यो वर्ष क्याम्पसमा नयाँ के थपिएको छ ?
खनालः यस वर्षचाहिँ क्याम्पसमा समयसापेक्षरुपमा समाजमा कुनचाहिँ विषय आवश्यक पर्छ ती विषयको अध्यापन सुरु गर्ने तयारी गरिएको छ । एक्काइसौं शताब्दीमा के माग भइरहेको छ भन्ने कुरालाई विचार गर्दा विद्यार्थीहरुलाई शिक्षामात्र होइन कि, सीपमूलक शिक्षा आवश्यक पर्दछ । सीपमूलक शिक्षाले भविष्य सुनिश्चित गर्ने भएका कारणले यसपालि म्यानेजमेन्टले ब्यूटीसियन विषय ल्याएको हो ।
समाजः यसका लागि के–के गर्नुपर्यो ? नयाँ योजना के कति समय खाली राखेर ल्याएको हो ?
खनालः यो विषयका हामीले निवेदन गर्यौ । यो विषय खासै धेरै ठाउँमा पढाई हुँदैन । दुई तीन ठाउँमा भएको भनेर सुनेको छु । उपत्यका बाहिरचाहिँ हामीले सञ्चालन गरेका छौं । यसमा हामीले पछिसम्मका लागि निर्णय गरिसकेका छौं । यस विषयमा अहिले १२ जना विद्यार्थी भर्ना भएका छन् । आज (मंगलबार) बिहानबाट कक्षा सञ्चालन भएको छ । अभ्यास गर्नका लागि हामी छलफल गरिरहेका छौँ । म्यानेजमेन्ट क्याम्पसले केही न केही नयाँ विषय दिन्छ । क्याम्पसले बीचमा खर्च कति हुन्छ भन्दा पनि नयाँ विषय थप गर्ने क्रममा यो विषय आएको हो । अहिले एचएम (होटेल म्यानेजमेन्ट) मा विद्यार्थी बढेको छ । यो व्यूटीसियन विषय पनि एचएमजस्तै हुन्छ कि ।
समाजः म्यानेजमेन्टबाट कक्षा ११/१२ पढेर सकेपछि विदेश जाने क्रम कस्तो छ ?
खनालः यो क्रमचाहिँ तीव्र भएको देखिन्छ । यो विषयमा हामीले सर्वेक्षण भने गरेका छैनौं । तर विद्यार्थीसँग भेटघाट र सम्पर्क हुँदा सर, हामीले विदेश जाने प्रयास गरिरहेको छौं भनेर विद्यार्थीले भन्ने गरेका छन् । अहिले भने विद्यार्थीहरुले एचएम र कम्प्युटरजस्ता सीपमूलक विषय पढ्ने गरेको पाइएको छ ।
समाजः विद्यार्थीहरुलाई विदेश जानबाट रोक्न, यहाँ नै बसेर केही गर्न सकिन्छ भनेर तपाईहरुले के–के गर्दै हुनुहुन्छ ?
खनालः यो विषयमा क्याम्पसले भन्दा पनि नीति निर्माणमा बसेकाहरुले व्यवस्था बनाउनुपर्ने देखिन्छ । म्यानेजमेन्टजस्तो विद्यार्थीलाई जागिरमात्रै होइन, उनीहरुलाई राज्यले व्यापार गरेर खाने वातावरणका लागि सीपमूलक सीप दिन आवश्यक छ ।
समाजः क्याम्पसमा विद्यार्थीको शैक्षिक स्थिति कस्तो छ ?
खनालः क्याम्पसको नतिजाले हामी राष्ट्रियरुपमै अगाडि छौं । हाम्रो उत्पादन कहाँ कहाँ छन्, के गरिरहेका छन् भनेर खोजी पनि गरिरहेका छौँ ।
समाजः तपाईले सबै विद्यार्थीलाई बुझ्न, नियाल्न भ्याउनुभएको छ ?
खनालः म कार्यालयमा आउँदा सधैं विद्यार्थी–अभिभावकको भिड हुन्छ । मैले अभिभावकलाई भनेको हुन्छु, यदि तपाईंको बच्चालाई केही समस्या छ भने अभिभावक १० बजे अगाडि आएर बस्नुहोस् भनेको हुन्छु । तपाईंको बच्चाले केही भनेको खण्डमा सरले बोलाएकाले आएको हो भन्नुस् भन्ने गरेको पनि छु ।