हेटौंडा उपमहानगरपालिकामा हाल देखिरहेको सडक बिस्तारको द्वन्द्व एउटा निको नहुने घाउ जस्तै भैसकेको छ र यसको न्यायोचित समाधान दिन सक्ने राजनैतिक र बौद्धिक क्षमताको आभास भने सामाजिक सञ्जालमा कतै देखिएको अवस्था छैन । यसमा मलाई कुनै आश्चर्य पनि छैन ।

नेपालको दरीद्रमय नाजुक अवस्थाको ज्ञान र हृदयदेखिको महसुस मलाई ३० वर्ष पहिले नै भएको थियो । जुन बेला म अध्ययनका लागि अमेरिकाको डालस शहरको हवाई अड्डामा रात बिताउन बाध्य भएको थिएँ । त्यस रात अमेरिकी जनजीवनको पहिलो अवलोकन गरेर निकै प्रभावित भएको थिएँ । अवश्य पनि भौतिक समृद्धिमा अमेरिका त्यस समय निकै अग्रस्थानमा थियो । साथै आफ्नो देश नेपालसँग तुलमा गर्दा निकै नै मर्माहत समेत भएको अनुभव हिजो मात्रको घटना जस्तो ताजा र पीडादायक हुन्छ ।

त्यही पलबाट मैले यस्तोमा अन्तर्निहित सत्य पत्ता लगाउने आठोट गरेर जीवनको पथ नै परिमार्जित समेत गरेको थिएँ । ३० वर्षको अन्तरालमा निरन्तर स्वअध्ययन र चिन्तन–मनन् पश्चात धेरै वास्तविकता र कमिकमजोरीहरु त निश्चय नै उजागर त भएको छ । तर यस क्रममा प्राप्त ज्ञान भने व्यक्तिगत परिधी भित्र सीमित रहेको छ । समाजमा यसको प्रभाव र विस्तार गर्ने वातावरण यथास्थितिमा अनुकूल पनि छैन किनकी भैंसीलाई पुराण सुनाउने अभ्यासलाई कसैले बुद्धिमानी काम भन्दैन ।

सडक बिस्तारसम्बन्धि समाचारहरु हेर्दा पनि कुनै पनि तारिफयोग्य तर्क र वार्ताको अनुभूति हुँदैन । प्रायःजसो मानिसहरु यसलाई विकासको काम भनिरहेका छन् । सडक विभागको वक्तव्यहरु पनि कडा र मानवताहीन छन् । सही निर्णय के होला भनेरे कसैले मनन् गरेको देखिएको छैन । सही निर्णय के हुन सक्छ त जसले विकास पनि होस् तर बिनाशबाट पनि जोगियोस् । गणतन्त्र पछिको नेपालको मुख्यरोग नै विकासको नाममा विनाश नै त रहेको छ ।

हेटौँडा कसरी यसबाट जोगिन सक्छ र ? मानसिकता त सबैको एउटै छ । फराकिलो बाटो हुनु नै विकास हुनेछ, हैन त ? यसको उचित र सराहनीय समाधान खोज्ने हो भने आफ्नै समाजको जग के हो बुझ्नु पर्छ र संसार अहिले कता पुगेको छ त्यो पनि चेतनामा आउनु पर्छ । यो दुबैको समिश्रणबाट सही हल आउन सक्छ ।

पहिलो कुरामा के बुझ्नु जरुरी छ भने समाज र सृष्टी सबै धर्मको जगमा खडा रहेको हुन्छ । जब धर्मको अवहेलना हुन थाल्छ तब दुखको पहाड टुट्न थाल्छ । के हो त धर्म ? यस तर्कमा धर्मलाई सबैको हीत हुने निर्णय र कर्म मानिएको छ । धर्म भनेको हरेक व्यक्तिले कुनै कुराको निर्णय गर्दा वृहत सामाजिक भलाईलाई मध्यनजर गर्नु हो । सामाजिक प्राणी हुनुको पहिलो धर्म नै सामाजिक हीतको कार्य गर्नु हो । यो हाम्रो वैदिक ज्ञानको एक मुख्य पाटो हो । विकासको नाममा हजारौं परिवार, व्यवसायी र एउटा शहरकै उठिबास गरेर आँसु र पीडाको पोखरी माथि दशकौंसम्म मुख्य प्राचिन ऐतिहासिक शहर खण्डलाई अस्तव्यस्त र धुलाम्य बनाएर राखेर कसो चै हीत होला ? विखण्डित आत्माहरुको चित्कार सुन्ने कान छैन रहे राजनीतिक नेता, कर्मचारी र विकास प्रेमी जनमानसहरुमा । यस्तो विकास अधर्म र पापको खम्बामा बनाइएको हुनेछ र सो को फल के होला अनुमान गर्न कठीन छैन ।

सर्वजनहीतायको मन्त्रले निर्णय गर्ने भए यो ध्वंसात्मक सोचको अन्त्य हुनु जरुरी छ । विकल्पमा यस सडकखण्डलाई यहाँको बसोबास र विकासको ऐतिहासिक पक्ष मानेर सम्बर्धन र प्रबर्धन गर्नु उचित होला । त्यसपछि सडक त चाहिएकै छ । हुनु पर्छ नै, तर नयाँ परिकल्पनाका साथ अझै राम्रो र परिस्कृत हुन सक्छ । नयाँ राजमार्गमा मोटरसाइकल, साईकल, ट्याक्टर समेत सहज तरिकाले चल्ने ७–८ लेनको बजाउन सके अति उत्तम र नेपालमै उदाहरणीय हुन सक्नेछ ।
अहिलेको विकास हेर्ने हो भने छिमेकी देश चीनको उदाहरणलाई अग्रज मान्नु पर्छ । हामीले जस्तो जबर्जस्ति डोजर चलाएर गाउँ–गाउँमा पहिरोको चपेटामा बिनाश गरेका छैनन् तिनले । मित्र राष्ट्रहरुकै सहयोगमा नै त बनाउने हो यो सडक खण्ड त्यसैले चीनकै मोडलमा रातोमाटेदेखि नवलपुरसम्म ८ लेनको फ्लाईओभर राप्ति नदीकै बगर च्यापेर गराएमा कृषियोग्य भूमिको पनि न्यून प्रयोग हुनेछ । नदी माथिनै पिलरको संरचना बनाउन सम्भव हुनेछ । अर्को छिमेकी देश भारतमा समेत साना–साना शहरमा समेत फ्लाईओभरको माध्यमले सडक यातायातमा फड्को मारिरहेको छ ।

चीन वा रुस कुनै एकलाई यस सहयोगको प्रस्ताव गरेमा खुशीसाथ यो कार्य सम्पन्न हुन सक्ने छ र त्यो पनि छाती फुलाउन सक्ने खुशी र गर्वको खन्बामा । हिडिम्ब नगरीको चेतना पलाओस् । अहिलेसम्म त बेथितिको भण्डार नै बसेको छ यस सडक सम्बन्धी कारोबार, बिक्रि र मुआब्जा सम्बन्धमा । यसलाई बिराम दिएर मानवतामा आधारित नयाँ पाटो शुरु गर्ने प्रयास नै उचित होला । दोषीहरु कोही छन् भने जरिवाना गराउनुमा कुनै अपराध हुने छैन । तर हजारौंको बिनाशको आँसुमा हामीले कुनै खुशी र विकास देख्न खोज्यौं भने त्यो मानवीय गुणमा पर्दैन । यो सडकको परिकल्पना गरेको समय र अहिलेको परिस्थितिमा आकाश जमिनको फरक छ । बुद्धिमानीपूर्वक काम गरेमात्र समाजको हीत निश्चित हुनेछ ।