हेटौंडाः मकवानपुर जिल्लाका आठ वटा पालिकाका विद्यालयमा प्रथम त्रैमासिक परीक्षा सकिएको छ । बागमती गाउँपालिका, बकैया गाउँपालिका, मनहरी गाउँपालिका, ईन्द्रसरोवर गाउँपालिका, राक्सिराङ गाउँपालिका, भिमफेदी गाउँपालिका, मकवानपुरगढी गाउँपालिका र थाहा नगरपालिकाका सबै सामुदायिक विद्यालयमा प्रथम त्रैमासिक परीक्षा सकिएको हो । हेटौँडा उपमहानगरपालिकामा परीक्षा भइरहेको छ भने कैलाश गाउँपालिकामा परीक्षा हुन बाँकी रहेको छ ।
बागमती गाउँपालिकामा रहेको ५० वटै सामुदायिक विद्यालयहरूमा असार ३१ गते परीक्षा सकिएको छ । बकैया गाउँपालिकामा असार ३१ गतेबाट परीक्षा सञ्चालन भई साउन ७ गते परीक्षा सकिएको छ । भीमफेदी गाउँपालिकामा असार २६ गतेबाट परीक्षा सुरु भएर साउनको पहिलो हप्ता सकिएको छ । परीक्षा सकिएर वर्षे विदा गरिएको र भदौ ३ गतेबाट विद्यालयहरुको पुनः सञ्चालनमा आउने भीमफेदी गाउँपालिकाका शिक्षा अधिकारी प्रदीप पराजुलीले जानकारी दिनुभयो । गाउँपालिका भित्र दुई वटा निजी विद्यालयहरु पनि रहेको पराजुली बताउनुहुन्छ । भीमफेदी गाउँपालिकामा निजी र सामुदायिक गरी ४५ वटै विद्यालयमा परीक्षा सकिएको छ ।
मनहरी गाउँपालिकामा पनि ३२ वटा सामुदायिक विद्यालयहरूमा परीक्षा सकिएको छ । गाउँपालिका भित्र १२ हजार विद्यार्थीले प्रथम त्रैमासिक परीक्षा दिएको गाउँपालिका शिक्षा अधिकृत पूर्णभद्र भुषालले जानकारी दिनुभयो । थाहा नगरपालिकाका ३४ वटै सामुदायिक विद्यालयमा परीक्षा सम्पन्न भएको छ । थाहा नगरको सुगम क्षेत्रमा रहेका विद्यालयहरु साउन २७ गतेबाट सञ्चालन हुनेछ भने दुर्गम क्षेत्रका विद्यालयहरुमा भदौ ७ गतेबाट सञ्चालनमा आउने थाहा नगरपालिकाका शिक्षा अधिकृत माधव विक्रम मल्लले जानकारी दिनुभयो ।
यस्तै राक्सिराङ गाउँपालिकाका ५२ वटा सामुदायिक विद्यालयहरुमा परीक्षा सकिएर भदौ ३ गतेसम्म वर्षे विदा दिइएको छ । गाउँपालिका भित्र ६ हजार ८ सय ९० विद्यार्थी रहेको राक्सिराङ गाउँपालिकाका प्राविधिक पासाङ लामाले जानकारी दिनुभयो । कैलाश गाउँपालिकामा वर्षे बिदा सकिएपछि मात्र विद्यालयले परीक्षा लिने गाउँपालिकाका शिक्षा शाखाका सूर्य बहादुर थिङले जानकारी दिनुभयो । कैलाश गाउँपालिकामा ४३ वटा विद्यालय रहेको छ भने ६ हजार १ सय विद्यार्थी अध्ययनरत छन् ।
मकवानपुरगढी गाउँपालिकामा रहेको ३७ वटा विद्यालय रहेका छन् । मकवानपुरगढी गाउँपालिकामा ४ हजार ८ सय भन्दा बढी विद्यार्थीले परीक्षा दिएका छन् । हेटौँडा उपमहानगरपालिकाको पनि केही विद्यालयहरुमा परीक्षा सकिएको र केही विद्यालयहरुमा परीक्षा भइरहेको छ । परीक्षा सकेपछि सबै विद्यालयहरुमा वर्षे विदा हुनेछ । बिदा सकिएपछि भदौ १ गतेबाट विद्यालयहरु सुचारु हुने शिक्षा शाखाले जानकारी दिएको छ ।
मकवानपुर जिल्लाको बागमती गाउँपालिकाले मात्रै पालिकाभित्रका विद्यालयहरुको त्रैमासिक परीक्षा व्यवस्थापन गर्दै आएको छ । अन्य पालिकामा भने विद्यालयकै जिम्मामा परीक्षा सञ्चालन भएको छ । ती पालिकाले कक्षा ८ को परीक्षा मात्रै व्यवस्थापन गर्दै आएको छ । त्रैमासिक परीक्षा सञ्चालन, परीक्षाको नतीजा प्रकाशन, मूल्यांकन र आगामी योजना बनाउनुपर्ने विषयमा पालिकाको ध्यान पुग्न सकेको छैन । पालिकाहरुले विद्यार्थीको भर्ना विवरण, प्रथम त्रैमासिक परीक्षामा अनुपस्थित विद्यार्थीको संख्या र अनुपस्थित हुनुका कारणबारे अध्ययन गर्ने गरेको छैन । स्थानीय तहलाई विद्यालय तहको शिक्षाको जिम्मेवारी दिइए पनि पालिकाहरुले विद्यालय शिक्षालाई गम्भीररुपमा लिएर आवश्यक योजना बनाउने, योजनाको प्रभावकारी कार्यान्वयनको रणनीति बनाउने र कार्यान्वयनपछि त्यसको प्रभावकारिताको मूल्यांकन र समीक्षामा ध्यान दिन सकेको छैन ।