हेटौंडाः हेटौँडा उपमहानगरभित्र रहेका ३१ वटा सामुदायिक विद्यालयमा मंगलबारदेखि एकसाथ प्रथम त्रैमासिक परीक्षा सुरु भएको छ । ४ कक्षादेखि १० कक्षासम्मका विद्यार्थी परीक्षामा सहभागी छन् । नगरस्तरीय शैक्षिक समन्वय समिति हेटौँडाले परीक्षाको व्यवस्थापनमा सहजीकरण गरेको छ । परीक्षामा ५ हजार विद्यार्थी सहभागी छन् ।
दुई सिफ्टमा परीक्षा संचालन भइरहेको र पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा भएको नगरस्तरीय शैक्षिक समन्वय समिति हेटौँडाका अध्यक्ष सागरप्रसाद खतिवडाले जानकारी दिनुभयो । यस्तै दोस्रो दिन बुधबार अनिवार्य नेपाली विषयको परीक्षा हुनेछ । प्रथम त्रैमासिक परीक्षा सकिएपछि साउन १७ गतेदेखि भदौ १ गतेसम्म विद्यालयले वर्षे बिदा दिनेछ । वर्षे बिदा कटौती हुने गरी गर्मी बिदा विद्यालयले दिएको थियो । गर्मी बिदा कटौती हुने गरी पठपाठन संचालन गरिएर मात्र परीक्षा संचालन गरिएको खतिवडाको भनाई छ ।
यसअघि गत साउन २ गतेदेखि केहीँ विद्यालयले भने हेटौँडा उपमहानगरपालिकाको क्यालेन्डरअनुसार प्रथम त्रैमासिक परीक्षाको सुरु गरिसकेको छ । ती विद्यालयहरुमा भने बुधबार नै परीक्षा सकिनेछ । ७३ वटा विद्यालयमध्ये ४२ वटा विद्यालयले छिट्टै वर्षे बिदा दिएर छिट्टै विद्यालय खुला गरिने गरी यसअघि परीक्षा सुरु गरिएको उहाँको भनाई छ । स्थानीय तहको शिक्षा शाखाले भने त्रैमासिक परीक्षाको सञ्चालन, व्यवस्थापन र मूल्यांकनमा ध्यान दिन सकेको छैन ।