गुगल तस्विर ।

हेटौँडाः प्रदेशको विभिन्न जिल्लामा भएको छुट्टाछुट्टै घटनामा एकैदिन ३ जनाको मृत्यु भएको छ । मंगलबार चितवन, सिन्धुपाल्चोक र धादिङ जिल्लामा ३ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

चितवन जिल्लाको राप्ती नगरपालिका–६ हर्दिमा बसले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । अन्दाजी ५२ वर्षीय पुरुषको मृतकको परिचय खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ ।

मंगलबार काठमाडौंबाट काँकडभिट्टा जाँदै गरेको बा प्र ०३–००१ ख २५८७ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिँदा गम्भिर घाईते भएका थिए । घाइतेलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालक प्रहरीले नियन्त्रणमा रहेको छ ।

सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिका–५ मा एकजना मृत फेला परेका छन् । मृत फेला पर्नेमा ३६ वर्षीय धने बोम्जन रहेको प्रहरीले जनाएको छ । बोम्जन सोमबार साँझ ५ बजेर ३० मिनेटको समयमा घरबाट निस्की हिँडेको र फर्की नआएकोले आफन्तले खोजतलास गर्दा मंगलबार दिउँसो २ बजेर ३० मिनेटको समयमा छेपारे नदिको बीचमा मृत्त फेला परेको प्रहरीले जानकारी दिएको छ ।

यस्तै, धादिङ जिल्लाको खनियावास गाउँपालिका–२ गुमचेकमा एकजना वृद्ध मृत फेला परेका छन् । मृत फेला पर्नेमा ७१ वर्षीय प्रल्हाद गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ । गुरुङ मंगलबार बिहान १० बजेको समयमा बाटो छेउमा सुतिरहेको अवस्थामा मृत फेला परेका थिए । वृद्धको शव मुचुल्का पश्चात पोष्टमार्टमका लागि जिल्ला अस्पताल धादिङ लगिएको प्रहरीले जानकारी दिएको छ ।