मकवानपुर जिल्ला धेरै पहिलादेखि लागूऔषध गाँजा तथा अफिम खेतीको लागि चर्चित रहेको छ । मकवानपुर जिल्लाका पूर्वी, पश्चिमी र उत्तरी सबै क्षेत्रमा गाँजा तथा अफिमको खेती हुने गरेको छ । माओवादी जनयुद्धको समयमा व्यापक बनेको यसको खेती त्यसपछि केही वर्ष कम भए पनि पछिल्लो समय फेरि बढ्दै गएको छ । प्रहरी प्रशासनको कडाई र गाँजा खेतीको विकल्पको रुपमा तरकारी खेतीको प्रवद्र्धन गर्न सरकारी तथा गैरसरकारी निकायले विभिन्न कार्यक्रम गरेपछि गाँजा तथा अफिम खेती गर्ने परिपाटीमा केही कमी आएको थियो । प्रहरी प्रशासनले अभियान नै चलाएर हरेक वर्ष गाँजा तथा अफिम खेती नष्ट गर्दै आएको छ । यति हुँदा पनि गाँजा तथा अफिम खेती बढ्दै जानुले राम्रो संकेत गर्दैन । विश्वका कतिपय देशले गाँजा खेतीलाई वैधानिकता दिएको सन्दर्भमा नेपालमा पनि गाँजा खेतीलाई वैधानिक बनाउनुपर्ने आवाज उठिरहेको छ । अझै पनि विश्वका धेरै देशमा गाँजा तथा अफिम खेती गर्न, उत्पादन, बिक्री वितरण, ओसारपसा र सेवन गर्न बन्देज लगाइएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७९/०८० मा २ सय २३ विगाह ११ कठ्ठा क्षेत्रफलमा लगाएको अफिम खेती प्रहरीले फडानी गरेर नष्ट गरेको छ । आर्थिक वर्ष २०७८/०७९ मा १ सय ४४ विगाह १४ कठ्ठामा लगाएको अफिम खेती नष्ट गरेको थियो भने आर्थिक वर्ष २०७७/०७८ मा ४१ विगाह ११ कठ्ठा क्षेत्रफलमा लगाएको अफिम खेती नष्ट गरेको प्रहरीको तथ्यांक छ । यस्तै, मकवानपुरमा गत आर्थिक वर्ष २०७९/०८० मा १ सय ५० विगाह १० कठ्ठा क्षेत्रफलमा लगाएको गाँजा खेती प्रहरीले फडानी गरेर नष्ट गरेको छ । आर्थिक वर्ष २०७८/०७९ मा १ सय ४४ विगाह १ कठ्ठा १६ धुरमा लगाएको गाँजा खेती नष्ट गरिएको थियो । यो तथ्यांकले पछिल्ला वर्षहरुमा जिल्लामा अफिम र गाँजा खेती बढेको अनुमान गर्न सकिन्छ । गत आर्थिक वर्षमा मकवानपुर प्रहरीले ६ टनभन्दा बढी लागूऔषध गाँजा बरामद गरेको छ । आर्थिक वर्ष २०७८/०७९ मा २ हजार ६ सय केजी गाँजा बरामद गरेकोमा प्रहरीले गत आर्थिक वर्ष त्यसको ३ गुणा बढी गाँजा बरामद गरेको हो । गत आर्थिक वर्षमा मकवानपुर प्रहरीले २१ केजी चरेस र १४ केजी अफिमसहित धेरै प्रकारका लागूऔषध बरामद गरेको छ । लागूऔषधसँगै प्रहरीले २ सय ४५ जनालाई पक्राउ गरेर मुद्दा चलाएको छ ।
नेपालको पहाड र तराई सबैतिर गाँजा तथा अफिम खेती हुने गरेको छ । प्रहरी प्रशासनले फडानी गर्दै आए पनि गाँजा तथा अफिम खेती अन्त्य भएको छैन । गाँजा र अफिम खेतीका लागि बिचौलियाहरुले सहयोग र प्रोत्साहन गर्ने गरेका कारण किसानहरु यसको खेतीमा अग्रसर हुने गरेका छन् । बिचौलियामार्फत् भारतीयहरुको लगानी र प्राविधिक सहयोग प्राप्त हुँदा गाँजा तथा अफिम खेतीले प्रोत्साहन पाइरहेको छ । कसैले प्रोत्साहन गर्दैमा वा धेरै फाइदा हुन्छ भन्दैमा गैरकानुनी काम गर्नु हुँदैन । नेपालमा गाँजा, अफिमलगायत लागूऔषध ओसारपसार, बिक्री तथा सेवन गर्नेहरुलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाएजस्तै गाँजा खेती गर्ने जग्गाधनीलाई पनि मुद्दा चलाउने गरेमा गाँजा खेतीलाई न्यूनीकरण गर्न सकिन्छ । फडानीमात्र गरेर खेती गर्नेलाई कानुनी दायरामा नल्याउने हो भने यसको अन्त्य सम्भव छैन ।
केही दिनअघि मकवानपुरको राक्सिराङ गाउँपालिकामा गाँजा खेतीको विकल्पको रुपमा कफीको विरुवा रापिएको छ । प्रहरीकै सहभागितामा करिब ४ हजार कफीका बिरुवा रोप्नुका साथै १५ हजार कफीका बिरुवा गाउँपालिका अध्यक्षलाई हस्तास्तरण गरिएको थियो । किसानलाई गाँजा खेतीको विकल्प दिँदा तत्काल गाँजा खेती न्यूनीकरणमा केही सहयोग पुग्ने भए पनि वैकल्पिक खेतीबाट किसानले सोचेजस्तो आम्दानी गर्न सकेनन् भने फेरि गाँजा तथा अफिम खेतीतर्फ किसान नफर्कलान् भन्न सकिन्न । गाँजा र अफिम खेती नष्ट गर्नुका साथै यसको उपयुक्त विकल्प दिएर खेती गर्नेलाई कानुनी दायरामा ल्याउन सकेमा गाँजा तथा अफिम खेती धेरै कम हुने विश्वास गर्न सकिन्छ ।