सरिता सापकोटा, वडा सदस्य हेटौँडा उपमहानगरपालिका–६

वडामा महिला जनप्रतिनिधिहरु सिक्ने, बुझ्ने र धेरथोर काम गर्ने चरणमा हुनुहुन्छ । संविधानले नै महिला जनप्रतिनिधिलाई नेतृत्वको अवसर दिएसँगै वडामा कम्तिमा पनि दुईजना वडा सदस्य निर्वाचित हुने निश्चित छ । वडामा प्रतिनिधित्व गर्ने कतिपय महिलाहरु सक्रिय राजनीतिकमा नलागेको र सामान्य सामाजिक क्रियाकलापमा सहभागी भएकाको बाहुल्य छ । यस्तोमा महिला जनप्रतिनिधिकै समग्र विकास गर्नु आवश्यक देखिन्छ । यसैसन्दर्भमा समृद्ध समाज दैनिकका लागि संगी लामाले हेटौँडा उपमहानगरपालिका ६ नम्बर वडा समिति सदस्य सरिता सापकोटासँग गर्नुभएको कुराकानीको सम्पादित अंशः

समाजः अहिले वडामा के कस्तो काम भइरहेको छ ?
सापकोटाः
हामी गत आर्थिक वर्ष २०७९–८० को बजेट तथा कार्यक्रमको समीक्षाको क्रममा छौं । समीक्षाको कार्य पनि सकिसकेको छ । चालु आर्थिक वर्षको बजेटको काम पनि सकिएको छ । अहिले तत्काल तीन, चार दिन हामी अलि फुर्सदमा छौं ।

समाजः गत आर्थिक वर्षमा तपाईँहरुले वडामा के–के काम गर्नुभयो, अनुभव के कस्तो रह्यो ?
सापकोटाः
हामी निर्वाचित भएको पनि एक वर्ष भइसकेको छ । यो अवधिमा धेरै किसिमका अनुभव बटुल्यौं । घरमा बस्नु र वडामा जनप्रतिनिधि भएर जानुमा धेरै फरक पर्ने रहेछ । धेरै अनुभवहरु हासिल गर्न पायौँ । हामीले गरेका कामहरु वडावासीले देख्ने, बुझ्ने अवस्था छ । पूर्वाधारको कामहरु भएका छन् । त्यसका साथसाथै हामीले महिलालाई सीपमूलक तालिम दिएका छौं । प्रत्यक्षरुपमा देखिने काम भनेको बाटोघाटो नै जस्तो लाग्छ ।

समाजः वडाका कामलाई लिएर वडाबासी कतिको सन्तुष्ट भएको पाउनुभएको छ ? वडाबासी वडा कार्यालयमा कस्ता समस्याहरु लिएर आउँछन् ?
सापकोटाः
समस्याहरु त वडामा धेरै नै हुन्छ, समस्याको समाधान गर्न सकिन्छ भन्ने नै रहेन छ । यो एक वर्ष अनुभवमा नै समय बितेको छ । अहिले हामीले उहाँहरुलाई दिनु पर्ने र गरिरहेको कामहरुमा चाहिँ हिजो निरन्तरता जसले जे दिनुभयो भन्दा पनि अब हामी नयाँ योजना लिएर जनताप्रति कसरी जाने भन्ने छ । हाम्रो ६ नम्बर वडा कस्तो छ भने कृषिमा आबद्ध भएको ठाउँ हो । वडाबासीहरु कसरी नाफाको बाटोमा जोड्नु हुन्छ । सीपमूलक तालिम मात्र दिएर हुँदैन, अहिले केही नयाँ–नयाँ काम गर्नु पर्छ भनेर लागीरहेका छौं । सबैभन्दा ठूलो समस्या भनेको रोजगारीको अभाव नै रहेछ । उहाँहरुले हामीलाई केही रोजगार दिनुस् । हामी केही गर्नुपर्यो भन्नुहुन्छ ।

समाजः वडामा महिलाको शिक्षाको अवस्था के कस्तो छ ? केही व्यक्तिहरु शिक्षाको क्षेत्रबाट टाढा होला यस्तो समस्यालाई कसरी हेर्दै आएको छ ?
सापकोटाः
६ नम्बर वडा बजारबाट टाढा छैन । जो बजारसम्म आइरहन्छ, उहाँहरुका लागि टाढा छैन । तर, कतिपय महिलालाई त यति कुरा पनि थाहा हुँदैन कि वडा र नगरपालिकाले महिलाका लागि कार्यक्रमहरु दिन्छ । हामी घरदैलो कार्यक्रममा घर, टोल, समाजमा पुग्छौँ । उहाँहरुलाई केही थाहा हुँदैन । कुनै शिक्षित महिला समुदायको काममा नहिँड्ने देखियो । कतिपय दिदीबहिनीहरु पढाईको कारणले हिँडिरहनुभएको छ । उहाँहरुलाई देखेर चाहिँ कस्तो लाग्छ भने विवाह भइसकेपछि घरमै रुमलिएर बसेको अवस्था छ । अब हामीले चाहिँ के गर्न खोजिरहेका छौं भने त्यसरी बस्ने दिदीबहिनीहरु पनि बाहिर आउनु पर्छ । वडाबाट के सहयोग गर्दा राम्रो हुन्छ । कतिपय दिदीबहिनीहरुले हामीलाई लोकसेवाको कक्षा दिनुपर्यो भन्नुहुन्छ । उहाँहरुले त्यस्तो कुरा राखिसकेपछि हामी लोकसेवाको कक्षा सञ्चालन गर्ने सोँचमा छौं ।

समाजः वडाले सीपमूलक कार्यक्रम धेरै गरेको भन्छ । यो सीमूलक कार्यक्रमबाट सच्चिँकै वडाबासीहरुले फाइदा लिइरहेका छन् त ?
सापकोटाः
यो भन्दा अगाडि सीपमूलक कार्यक्रमहरु नदिएको होइन । दिएको थियो । अहिले हामीले एकचोटी हेरौं भनेर व्युटिपार्लर, जनै बनाउने र सईपाटा तयार पार्ने जस्ता कार्यक्रमहरु दियौं । यस्तो कार्यक्रमहरुमा धेरै दिदीबहिनीहरु आकर्षित पनि भएको पाएका छौं । सीपमूलक कार्यक्रम दिनु मात्र ठूलो होइन, त्यसलाई व्यवहारमा उतार्नु सबैभन्दा ठूलो हो ।

समाजः सीप सिकेको प्रमाणपत्र दिइसकेपछि उहाँहरु के समस्यामा छ, भनेर तपाईँहरुले पछ्र्याउने काम गर्नुभएको छ कि छैन ?
सापकोटाः
हाम्रो वडाबाट केहीे तालिमहरु दियौं । त्यो कार्यक्रमहरुलाई हामीले निगरानी गरिरहेका छौं । तालिमपछि हामीले उहाँहरुलाई फोन गरेर के गर्दै हुनुहुन्छ भनेर सोधिरहेका हुन्छौं ।

समाजः पाँच वर्षको कार्यकालमा वडालाई कस्तो भएको देख्न चाहनु हुन्छ ?
सापकोटाः
पाँच वर्षको कार्यकालमा भौतिक विकासमा मात्र ध्यान नदिई सम्पूर्ण वडाबासीहरुलाई अगाडि बढाउने र घर भित्रको महिला दिदीबहिनीलाई बाहिर निकाल्ने गरी योजना बनाउँदै छौं ।