सुत्केरीलाई पोषण सामग्री हस्तान्तरण गर्नुहुँदै वडाध्यक्ष इन्द्रमणि तिमल्सिना ।

हेटौँडाः पूर्वी मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष इन्द्रमणि तिमल्सिनाले वडाभित्रका सुत्केरी महिलालाई पोषण सामग्री वितरण गर्न सुरु गर्नुभएको छ । शनिबार वडाभित्रका दुई दिनअघि सुत्केरी भएकी माइलीमाया लोप्चनलाई घरमै पुगेर वडाध्यक्ष तिमल्सिनाले करिब ५ हजार रुपैयाँ बराबरको पोषण सामग्री वितरण गर्नुभयोे ।

वडाभित्रका सुत्केरी महिलाहरुको पोषणमा सुधार ल्याउने उद्देश्यले व्यक्तिगत खर्चबाट पोषण सामग्री उपलब्ध गराएको वडा अध्यक्ष तिमल्सिनाले बताउनुभयो । साउन १ गतेबाट २०८१ असार मसान्तसम्मका लागि आफूले वडाभित्रका सुत्केरी महिलाहरुलाई पोषण सामग्री वितरण गर्ने उहाँले बताउनुभयो ।

उहाँले जनतालाई समस्या परेको बेला आफूले केही भएपनि राहत होस् भनेर आफ्नो तलबभत्ताबाट पोषण सामग्री वितरण गर्न सुरु गरेको बताउनुभयो । सुत्केरी भएका हरेक महिलाहरुलाई लोकल कुखुरा, तोरीको तेल, विभिन्न मसलाहरु र साबुन वितरण गरिने उहाँले बताउनुभयो ।

साउन १ गते अध्यक्ष तिमल्सिनाले जारी गर्नुभएको सूचनामा सुत्केरी भएको १५ दिनभित्र सम्बन्धित परिवारको सदस्यले वडामा उपस्थित भएर स्वास्थ्य संस्थामा सुत्केरी गराएको प्रमाणपत्र ल्याउन भनिएको थियो । यस्तै, बच्चाको जन्मदर्ता पनि गराउनुपर्ने जनाइएको छ ।