छात्रवृत्ति वितरण गरिँदै ।

हेटौँडाः मकवानपुर जिल्लाको मनहरी गाउँपालिका–३, सिद्धाकालीस्थित प्रजा आधारभुत विद्यालयले शनिबार छात्रवृत्ति वितरण गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र चेपाङ र विद्यालयका प्रधानाध्यापक तुल बहादुर सुनारको अध्यक्षतामा छात्रवृत्ति वितरण कार्यक्रम भएको हो ।

छात्रवृत्ति रकम बुझीलिएको भर्पाइ गर्दै अभिभावक ।
कार्यक्रममा वडा सदस्य हीरा बहादुर प्रजाको पनि आतिथ्य रहेको थियो । अभिभावकको उपस्थितिमा चार सय रुपैयाँका दरले दलित र छात्रालाई छात्रवृत्ति वितरण गरेको विद्यालयले पाँच सय रुपैयाँका दरले सिमान्तकृत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । विद्यालयका ३ सय ४० विद्यार्थीमध्ये १ सय २१ जना छात्रा, १२ जना दलित र ८० जना सिमान्तकृत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको प्रधानाध्यापक सुनारले बताउनुभयो ।

शुक्रबारीय अतिरिक्त क्रियाकलापअन्तर्गत गायत प्रतियोगितामा प्रथम भई पुरस्कृत हुने विद्यार्थीहरु । साथमा शिक्षक पनि ।
यस्तै विद्यालयले शुक्रबार अतिरिक्त क्रियाकलापअन्तर्गत गायन प्रतियोगिताको आयोजना गरेको छ । प्रतियोगितामा १ कक्षादेखि ८ कक्षासम्मका विद्यार्थीको सहभागिता रहेको प्रधानाध्यापक सुनारले जानकारी दिनुभयो । कार्यक्रम तीन भागमा विभाजन गरी आयोजना गरिएको थियो । कक्षा एकदेखि तीनसम्मको एउटा समूह, कक्षा ४–५ को अर्को समूह र ६ देखि ८ को अर्को समूह गरी प्रतियोगिता आयोजना गरिएको प्रधानाध्यापक सुनारले बताउनुभयो । प्रतियोगितामा सबै समूहबाट एक–एकजना पुरस्कृत भएका थिए । १ कक्षादेखि ३ कक्षाको समूहबाट सखिना राई, कक्षा ४ र ५ को समूहबाट कृषा लामा र ६ कक्षादेखि ८ कक्षाबाट रञ्जन प्रजा प्रथम भई पुरस्कृत भए । तीनै जानलाई विद्यालयले कापी, कलमसहित पुरस्कृत गरेको छ ।