विद्यार्थीलाई सम्मानपछि सामूहिक तस्वीर खिचाउँदै ।

हेटौँडाः एसईईमा उत्तीर्ण विद्यार्थीका लागि हेटौँडा–१८ स्थित मकवानपुर बाल विद्या सदनले हौसल प्रदान गर्नुका साथै सम्मान गरेको छ । विद्यालयकै बालविद्या सत्पथ बाल समुहकी अध्यक्ष रबिना सापकोटाको सभाध्यक्ष तथा वडा अध्यक्ष अनिल कुमार बानियाँको प्रमुख आतिथ्यमा विद्यार्थीलाई हौसला एवम् सम्मान प्रदान गर्ने कार्यक्रम भएको हो ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरकी सदस्य विष्णुमाया थपलिया, वडा सदस्य योगराज खतिवडा तथा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका प्रतिनिधिको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा एसईई उत्तीर्ण विद्यार्थी तथा अभिभावकले उत्कृष्ट नतिजाको सम्बन्धमा आफ्ना अनुभव प्रस्तुत गरेका थिए । सम्पूर्ण विद्यार्थीको नतिजाको उच्च मूल्यांकन गर्नु तथा आगामी दिनमा सोही नतिजालाई कायम गर्दै लैजान हौसला प्रदान गर्न विद्यार्थीलाई सम्मान कार्यक्रम गरिएको प्रिन्सीपल सुदीप राज गिरीले बताउनु भयो ।

एसईई उत्तीर्ण ११ जना विद्यार्थीलाई सम्मानपत्रसहित उपहारस्वरुप प्रतिविद्यार्थी एक थान पुस्तक समेत हस्तान्तरण गरिएको छ । विद्यालयबाट ११ जना विद्यार्थीले एसईईमा सहभागी भएकोमा ३.९ उच्च जिपिएसहित ३.६ देखि ४ जिपिएसम्म ५ जना र ३.२ देखि ३.६ सम्म ६ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।