आफ्नो कृतिका बारेमा जानकारी गराउनुहुँदै कथाकार बसन्त पराजुली ।

हेटौँडाः चितवनका पत्रकार बसन्त पराजुलीको कृति मोम्चोको हेटौँडामा परिचर्चा कार्यक्रम भएको छ । शनिबार हेटौँडास्थित किताबघरमा पराजुलीको दोस्रो कृति कथासंग्रह मोम्चोमाथि परिचर्चा गरिएको हो । सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको अध्यक्षता तथा साहित्यकार ह्यग्रीव आचार्यको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । पराजुलीको कृतिमाथि साहित्यकार नीरा शर्मा र हरि पौडेलले टिप्पणी गर्नुभएको थियो ।

नीरा शर्माले चेपाङ भाषामा मोम्चो भनेको महिला भनी बुझाउने शब्द भएको उल्लेख गर्नु हुँदै मोम्चो महिलावादी कृति भएको बताउनुभयो । कथामा यथार्थ र काल्पनिकताको सन्तुलित प्रस्तुती हुनुपर्ने औँल्याउनुहुँदै शर्माले मोम्चोमा कल्पना भन्दा बढी यथार्थपरकता रहेको बताउनुभयो । भाषाशैलीका दृष्टिले सुरुवाती लेखन प्रभावकारी देखिए पनि कथाको मूल विषयमा पुग्दा कमजोर देखिएको स्पष्ट पार्नुभयो ।

यस्तै हरि पौडेलले मोम्चोका कथाहरु एक बसाईमै पढेर सक्न प्रेरित गर्ने किसिमको सरल रहेको बताउनुभयो । विपन्न महिलाका समस्यालाई उजागर गर्न मोम्चो सफल भएको उहाँको भनाइ थियो । सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले भाषा र सन्दर्भका विषयमा टिप्पणी गर्नुभयो । हेटौँडाका साहित्यकारको टिप्पणीपछि कथाकार पराजुलीले घर, समाजमा यत्र–तत्र कथा रहेको उल्लेख गर्नुभयो । पहाडी समाजमा महिलाका समस्यालाई उजागर गर्न कथा लेखिएको पराजुलीको भनाइ छ । आफू पत्रकार भएर समाचारमा नसमेटिएका विषयलाई पुस्तकको स्वरुपमा कथामा प्रस्तुत गरिएको पराजुलीले स्पष्ट पार्नुभयो ।

साहित्यकार सामना पहाडले नारीका नियतिलाई मोम्चोमा प्रस्तुत व्यक्त गरिएको बताउनुभयो । आफूले ३ वटा मात्रै कथा पढ्न भ्याएको उल्लेख गर्नुहुँदै कथाले महिलालाका सकारात्मक पक्षलाई पन समेट्न सकेको भए अझ राम्रो हुने सुझाव दिनुभयो । काठमाडौंको भुँडीपुराण प्रकाशनले प्रकाशन गरेको मोम्चो २०७८ साल मंसिर महिनामा प्रकाशित कृति हो । दोस्रो संस्करण २०७९ साल असारमा प्रकाशित मोम्चोमा ११ वटा कथा संग्रहित छ । यसअघि पराजुलीको कुमाता कथासंग्रह प्रकाशित छ ।