खाना भोक मेटाउने पदार्थ मात्र होइन । खाना हाम्रो शरीरले राम्रोसँग काम गर्नका लागि चाहिने आधारभूत आवश्यक्ता हो । राम्रो, सन्तुलित र पौष्टिक आहारले वृद्धि, विकास, प्रतिरक्षा कार्य, रोग रोकथाम र समग्र स्वास्थ्यका लागि आवश्यक ऊर्जा र पोषक तत्वहरू प्रदान गर्दछ । हावापानी, भुगोल र संस्कृतिको विविधतासँगै सामाजिक परिवेश अनुसार खानाका परिकारहरु अनेक हुन्छन् । कैयौं खानाका परिकारले त देशकै नामलाई संसारमा चिनाएका हुन्छन् । “सुशी” जापानको चर्चित परिकार हो, “ट्याको वा ट्याकोस” मेक्सिकोबाट अन्यत्र फैलिएको परिकार हो भने नेपाली जनजिब्रोमा पिज्जा नामले चर्चित पिट्ःसः विश्व चर्चित इटालियन परिकार हो । उसो त नेपालीकृत भर्सनको मःम वा मोःमो नेपाली व्यापारीहरुले १७ औं शताब्दीमा उत्तरीे छिमेकी चीनको तिब्वतबाट नेपाल भित्राएको मानिन्छ । यद्यपी यो परिकार अब नेपाली स्थानीय परिकार बनिसकेको छ ।
नेपालका मौलिक परिकारमा कोदो, मकै, फापरको ढिँडो, रोटी तरकारी, गुन्द्रुक साँधेको, मकै भटमास, सातु, खिर, दही–चिउरा–केरा, चटामरी, योमरी, आलु तामा साँधेको, विविध खालका सुख्खा रोटिहरु एवम् विभिन्न जातजातिका परिकारहरुलाई लिन सकिन्छ तर यिनको उचित संरक्षण एवम् प्रवर्धनमा कतै हामी आँखा चिम्लिइरहेका त छैनौं ? अचेल सिंगो बजार घुम्दा पनि स्वस्थ र शक्तिवद्र्धक अधिकांश मौलिक परिकारहरु पाउन कठिन बन्दै गएको छ । शरीरको आवश्यक्तालाई भन्दा पनि जिब्रोको स्वादलाई बढि प्राथमिकता दिन थालिएको छ बरु यसको ठाउँमा अधिकांश महंगा र स्वास्थ्यका लागि उत्ति फाइदा नगर्ने महंगा विदेशी परिकारहरुले होटल र रेष्टुरेन्टहरु भरिएका छन् ।
रविन्द्र कार्की
केही समयअघि “औसत भन्दा १६ किलो बढि भात खान्छन् नेपाली” शिर्षकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरेको अध्ययनको रिपोर्ट सार्वजनिक भएको समाचार सामाजिक सञ्जालमा सेयर हुँदा अधिकांशले “हाहा” रियाक्ट गरेका थिए । मानौं भात खानु नराम्रो हो । उक्त रिपोर्टले भात खानु नराम्रो भनेको हैन त्यो त एउटा तथ्यांक हो । यसरी पाकिस्तानीले कति रोटि खाए । अमेरिकीले कति बर्गर खाए, इटालियनले कति पास्ता र पिज्जा भनेर हेर्न थालियो भने तथ्यांक पक्कै यस्तै आउला । उसो त देशअनुसार, भुगोलअनुसार जहाँ जुन खाद्य पदार्थको सहज उपलब्धता छ र परम्परादेखि नै सो खानेकुरा खाने चलन छ त्यही नै खाइने हो । त्यस्तै व्यक्तिको उमेर, स्वास्थ्य अवस्था, पेशा अनुसार पनि के, कति र कसरी खाने भन्ने कुरामा भिन्नता हुन्छन् ।

दाल, भात, तरकारी र अचार नेपाली भान्सामा कम्तिमा दिनमा एकपटक बनाइने मुख्य खाना हो । मुख्य खानामा खाइने यी परिकार आफैंमा परिपूर्ण छन् । शरीरलाई आवश्यक कार्बोहाइड्रेट, प्रोटिन, बोसो, भिटामिन लगायत सबै पोषक तत्व यसमा छ । मौसम र अनुकुलता अनुसार सलाद, घिउ, दही, मोही, दुध, फलफुल, मासु आदि पनि समावेश गर्दा हाम्रो परम्परागत खाना निकै सन्तुलित बन्छ । आहारविद् डा.राजु अधिकारीका अनुसार यति खानेकुरा भएपछि हाम्रो शरीरलाई पुग्छ । हाम्रो खाना स्वादिष्ट, सन्तुलित र स्वस्थकर छ ।
हाल नेपाली बजारमा हरेक रेष्टुरेन्ट र साना खाजा पसलमा सहज उपलब्ध हुने खाजाका परिकारमा मःम र चाउमिन, भारतबाट भित्रिएका चिल्लो , पिरो र मसलेदार ट्वाक्क जिब्रोमा लाग्ने परिकार पर्दछन् । नेपाली मौलिक परिकारमा सातै प्रदेशका अनेक जातजातिका बस्तिहरुमा, गाउँघर कुना कुनामा अनेक प्रकारमा छन् तर उचित प्रचार नै नभई कतै ति मौलिक परिकार हराएर जाने सम्भावना बढेको छ भने बजारमा सहजरुपमा स्वस्थ खानाका परिकार खान खोजी–खोजी हिँड्नु पर्ने अवस्था सिर्जना भएको छ ।
खानाका विविध परिकारहरु पर्यटन आकर्षणको माध्यम त बन्न सक्छन् नै देशको चिनारी र संस्कृतिको एउटा महत्वपूर्ण पाटो पनि हुन् । अमेरिका, जापान, थाइल्याण्ड, मेक्सिको, चीनमा पर्यटन आकर्षणका लागि विभिन्न खाना महोत्सवहरु हुन्छन् भने टर्कीको इस्तानबुल आइसक्रिमको विविध प्रकार व्यापारीहरुको रमाइलो गर्दै बेच्ने शैलीका कारण प्रख्यात छन् । नेपालमा पनि छिटफुट हुने खाना महोत्सवहरुलाई थप प्रवर्धन गर्दै आगामी दिनमा मौलिक र स्वस्थ खानाका परिकारहरुलाई संरक्षण र थप प्रचारको गरिए नेपाल आउने पर्यटकहरुले समेत मःम र केही नेवारी परिकारमा मात्र रम्न पर्ने बाध्यता हट्ने छ ।