गत बिहिबार सिद्धार्थ माविमा छलफलमा सहभागी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रधानाध्यापकहरु ।

कोरोना भाइरस अर्थात कोभिड–१९ ले सिंगो विश्व शोक, भोक अनि रोदनमा डुबेको छ । यो विषम् परिस्थितिमा लाखौं मानिसले ज्यान गुमाइसकेका छन् । लाखौं संक्रमणसँग जुधिरहेका छन् । लाखौं मानिस अर्काको भूमिमा अलपत्र बसेका छन् । यो संकटमा पनि उनीहरु आफ्ना अभिभावक अर्थात सरकार एवम् सम्बन्धित पक्षले तिनीहरुप्रति मानवता देखाउने आशामा छन् । कोरोना भाइरसको संक्रमण नेपालमा फैलिन नदिन नेपाल सरकारले पनि २०७६ चैत ११ गतेदेखि नेपालमा लकडाउनको घोषणा भयो । लकडाउन घोषणासँगै शैक्षिक क्षेत्र पनि अस्तव्यस्त बन्न पुगेको छ । अहिलेसम्म विद्यालयको शैक्षिक क्षेत्र प्रारम्भ भई करिब एकतिहाई पाठ्यवस्तु अध्ययन अध्यापन भई सक्थ्यो । तर, सिंगो विश्व नै प्रतिकुल बनेपछि के नै लाग्छ र ?

कैलाश धिताल

शैक्षिक संस्था बन्द भएपछि अधिकांश सामुदायिक विद्यालयलाई एक चुनौति थपिएको छ र त्यो चुनौति निजी श्रोतका शिक्षकले व्यवस्थापन हो । निजी श्रोतका शिक्षक त्यस्ता शिक्षक हुन् जसलाई विद्यालयको आन्तरिक श्रोतबाट तलब सुविधा उपलब्ध गराइन्छ । अझ प्रष्ट पार्दा हरेक सामुदायिक विद्यालयले शिक्षक दरबन्दी अभाव भएका कारण अभिभावकको सहमतिमा केही शूल्क अभिभावकसँग लिन्छ र त्यस्ता शिक्षकलाई तलब सुविधा उपलब्ध गराउँदछ । निजी श्रोतका शिक्षकको विषयमा वकालत गरिरहँदा निजी श्रोतको शिक्षक किन आवश्यक पर्न गयो भन्ने कुरा प्रष्ट पार्नु उपयुक्त हुन्छ । तसर्थ त्यता लागौं ।
– धेरै विद्यालयहरु धरासायी बन्दै गए । अभिभावक वर्गमा तीव्र असन्तुष्टी बढ्दै गयो ।
– गुणस्तर माथि प्रश्न उठ्न थाल्यो ।
– व्यवस्थापकीय पक्षमा सवाल पैदा हुन थाले ।
– कक्षा व्यवस्थापनमा प्रश्न उठ्न थाले ।
– शिक्षण शैलीमा प्रश्न उठ्न थाले ।
– शिक्षकहरु प्रति आम अभिभावकको गुनासो घट्ने क्रममा देखिएन झन् झन् बढ्दै गयो ।
– अभिभावकले सामुदायिक विद्यालयबाट विद्यार्थी झिकेर संस्थागत विद्यालयमा भर्ना गर्न थाले ।
– संस्थागत विद्यालय एक किसिमको देखासिखी पनि बन्न पुग्यो ।
– समग्रमा भन्दा विदालय खाली भई मर्ज हुनेसम्मको अवस्था सिर्जना हुन थाल्यो ।

जसले गर्दा विद्यालयलाई समुदायमा कसरी टिकाउने भन्ने कुरा एक तनाव सिर्जना भयो । र, विभिन्न विद्यालयहरु पनि समाधानको खोजीतर्फ लागी रहँदा शिक्षा मन्त्रालयले पनि अंग्रेजी माध्यमको अस्त्र फाल्यो । जसको कारण विलय हुने अवस्थामा पुगिसकेका धेरै विद्यालयहरु आज पनि शानका साथ सञ्चालन भइरहेका छन् । अब भन्नुहोस् वर्षौदेखि घट्दो दरमा रहेको विद्यार्थी संख्यालाई सन्तुलनमा ल्याई विद्यालयमा नयाँ स्वास अनि जाँगर भर्न ती अंग्रेजी माध्यमका निजी श्रोतका शिक्षकको भूमिका छ कि छैन ? धरासायी बनेको शैक्षिक संस्थाको साख जोगाउन पनि तमाम निजी श्रोतका शिक्षले हिजोका दिनमा गरेका मिहिनेतलाई बिर्सनु हुन्न ।

२०७७ साल जेठ १२ गते समृद्ध समाज दैनिकको अनलाइन संस्करणमा ‘चुनौति बन्दै निजी श्रोतका शिक्षक’ शीर्षकको समाचार पढ्दा मनमा एक प्रश्न जोडतोडले उठ्यो । विद्यालयको आन्तरिक श्रोत व्यवस्थापन हुन नसक्दा नगरभित्रका सयौं शिक्षकमाथि अन्याय त हुने छैन ? आशा छ त्यसो हुने छैन । किन कि सम्बन्धित विद्यालयको प्रशासन अनि विद्यालय व्यवस्थापन समिति नै तमाम शिक्षकका अभिभावक हुन् । बालबालिका जान्दैनन् कि आफ्ना अभिभावकसँग पैसा छ कि छैन ? उनीहरु त केवल आफ्नो अधिकार माग्दछन् र यो जाजय पनि छ ।

आजको विषम् परिस्थिति संसारले कल्पना गरेको थिएन । यस्तो परिस्थितिको कल्पना नै नगरेका कारण यो समस्याबाट बच्ने तयारी कसैले पनि गरेकै थिएन । त्यसैले निजी श्रोतका शिक्षक नियुक्ति गर्नुअघि सम्बन्धित विद्यालयले यस्तो असहज परिस्थिति आएमा तिनको व्यवस्थापन कसरी गर्ने भनेर पक्कै सोँचेका थिएनन् । तर, अब निजी श्रोतका शिक्षकलाई कसरी व्यवस्थापन गर्ने भनी सोँच्न विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासन जिम्मेवार हुनुपर्छ । यसअर्थमा सिद्धार्थ माविमा सीमित संख्याका विद्यालयका प्रतिनिधि सहभागी भई भएको छलफल सराहनीय छ । दुई महिनापछि भए पनि उहाँहरुले समस्या समाधानमा देखाउनु भएको अग्रसरता सराहनीय छ ।

निजी श्रोतका शिक्षकमाथि हाल आम अभिभावकको विश्वास चुलिँदो छ । यसको मतलव स्थायी दरबन्दीका शिक्षक राम्रा छैनन् भन्ने होइन र यस्तो अर्थ निकाल्नु पनि हुँदैन । तर, एउटा कुरा सबैले मन लागे पनि नलागे पनि स्वीकार्नु नै पर्दछ कि निजी श्रोतका शिक्षकलाई विद्यालयले थोरै तलब प्रदान गर्दछ र बढी भन्दा बढी कामको अपेक्षा गर्दछ । हिजोको दिनमा थोरै तलब प्रदान गरी धेरै काम लिइएको कुराको स्मरण गरी आजको दिनमा पनि तलब सुविधा उपलब्ध गराई यो विषम् परिस्थितिमा मानवता प्रकट गर्नै पर्दछ ।

त्यतिमात्र होइन, निजी श्रोतका शिक्षकको विषयमा कुरा गर्दा उनीहरुको पारिश्रमिक कार्यगत क्षमता भन्दा बढी उपलब्धी विद्यालयलाई दिन सक्नुपर्दछ । शिक्षक विद्यार्थी र अभिभावकसँग निरन्तर सम्पर्कमा रहन्छन् । अभिभावकलाई र विद्यार्थीलाई निरन्तर पृष्ठपोषण गर्दछन् । विद्यार्थीको घरघरै त्यस्ता शिक्षक पुगेका हुन्छन् । विद्यालयलाई कसरी उत्कृष्ट शैक्षिक हब बनाउने भन्ने कुरामा निरन्तर प्रशासनसँग सल्लाह, सुझाव लिई काम गरिरहन्छन् । यस किसिमको सक्रियतालाई प्रेरित गर्नेतर्फ पनि विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनले ध्यान दिनु जरुरी छ ।

लकडाउनकै बीचमा जनप्रिय माविले सामाजिक विषयको प्रयोगशाला निर्माणको काम भौतिक दुरी कायम राखी पूरा गरेको छ । यो कार्य निजी श्रोतका शिक्षकको अगुवाईमा भयो । ज्योति माविको टिमले पनि रचनात्मक कार्य गरिरहेको पाइएको छ । यसको मतलब स्थायी शिक्षक सुतेर बसेका छन् भन्ने चाहीँ होइन ।

यतिबेला हामी नयाँ संरचनामा समेत छौं । संघीय संरचनाअनुसार तीन तहको सरकार बनाएको छ । सबैभन्दा तल्लो सरकार अर्थात स्थानीय तह स्थानीय सरकारको रुपमा स्थापित भइसकेको छ । स्थानीय सरकारले शिक्षामा सुधार गर्ने हो भने कम्तिमा पनि एउटा विद्यालयभित्र विभिन्न प्रकारका शिक्षकको उपस्थितिलाई एकरुपता दिनु जरुरी छ । स्थानीय सरकारले प्रयास गर्ने हो भने आफ्नो भुगोलमा रहेका विद्यालयका शिक्षकलाई समान सुविधाका लागि नयाँ रणनीति तय गर्न सक्नुपर्छ । नयाँ कानुन ल्याउन सक्नुपर्छ । जसले भोलिका दिनमा यो निजी, यो स्थायी, यो राहत भन्ने जस्तो स्थिति नआओस् ।

कम्तिमा निजी श्रोतका भनिएका शिक्षकलाई राहतसरहत सुविधा दिएर उनीहरुको मनोवल बढाउने र विद्यालयको शैक्षिक सुधारलाई एक सुत्रीय योजना बनाएर जाने हो भने विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनले अझ सहज तरिकाले शैक्षिक सुधारको काम गर्न सक्ने थियो भने निजी श्रोतका भनिएका शिक्षकले सम्मानजनक सुविधासँगै अझ राम्रो नतीजाका लागि मिहिनेत गर्ने थिए ।

तसर्थ अन्त्यमा निजी श्रोतका शिक्षकले हिजोका दिनमा धरासायी बन्दै गइरहेको विद्यालयलाई नवजिवन प्रदान गरेको कुरा अकाट्य हो । हिजोका दिनमा यस्तो योगदान गर्ने शिक्षकको सेवा, सुविधाका विषयमा विद्यालय व्यवस्थापन र विद्यालय प्रशासनलाई तनाव हुने स्थिति र यस किसिमको अनिश्चितताले ती तमाम् शिक्षकलाई निराश तुल्याउने जोखिम हुनु हुन्न । निजी श्रोतका शिक्षकहरु मनमनै आफ्ना सेवा, सुविधाका बारेमा चिन्तित त होलान् तर, उनीहरुले यो विषम् परिस्थितिमा रित्तो हात बस्नुपर्ने नआओस् भनेर चिन्ता गर्नुहुने विद्यालय व्यवस्थापन समितिका नेता र विद्यालय प्रशासनका प्रमुखहरुको सकारात्मक प्रयासप्रति आभार व्यक्त गर्दछु । यो संकटकै बेला स्थानीय सरकारलाई शिक्षामा सुधारको योजना बनाउने सफलता पनि मिलोस् भनी अपेक्षा गर्दछु ।

(लेखक हेटौंडा–१६, हटियास्थित जनप्रिय माविका निजी श्रोतका शिक्षक हुनुहुन्छ ।)